राजपा संविधान संशोधन नभएसम्म चुनावमा नजाने !

१ भदौ ०७४, काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले बुधबार बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय जनता पार्टी नेपालका नेताहरूले संविधान संशोधन नभएसम्म आफूहरू चुनावमा जान नसक्ने बताएका छन् ।

राजपाका अध्यक्ष मण्डलका नेता शरदसिंह भण्डारीले संशोधन पारित भए चुनवामा जान सकिने बताएका छन् ।

नेता भण्डारीले भने, ‘संशोधन पारित हुन्छ भने हामीलाई कुनै पनि चुनवामा जान आपत्ति छैन ।’

भण्डारीले बाढीबाट प्रभावित तराई-मधेस का जनताको राहत, उद्धार र पुनस्र्थापनाका लागि भूकम्प प्राधिकरण जस्तै बाढी राहत प्राधिकरण गठन हुनुपर्ने माग आफूहरूले राखेको बताए ।

राजपाले बाढीका कारण कृषि, व्यापारमा भएको घाटाले मुलुक ठूलो आर्थिक संकटमा पर्न सक्ने भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री देउवाले संसदमा संविधान संशोधन विधेयकमाथि दफावार छलफल सुरु भएकाले उक्त प्रस्तावमाथि भदौ ५ देखि ७ भित्र मतदान गराउने बैठकमा जानकारी गराए ।

प्रधानमन्त्री देउवालाई उदृत गर्दै नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले प्रधानमन्त्री देउवाले सर्वदलीय बैठकमा प्रदेससभा र प्रतिनिधिसभाको निर्वाचन मिति भदौ ५ गते घोषणा गर्ने बताएको जानकारी दिए ।

‘प्रदेससभा र प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा भदौ ५ गते गर्छु’, देउवालाई उद्धृत गर्दै सुवालले भने ।

राष्ट्रिय जनमोर्चा नेपाल संसदीय दलका नेता चित्रबहादुर केसीले प्रदेससभा र प्रतिनिधिसभा निर्वाचन एकै दिन गराउने तीन दलको निर्णय सर्वदलीय बैठकमा सुनाइएको बताए ।

 

 

तपाइको मत