राजेन्द्र महतोले गरे केन्द्रीय कार्य समिति बैठक बहिष्कार

२४ मंसिर ०८०, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को नेता राजेन्द्र महतोले केन्द्रीय कार्य समिति बैठक बहिष्कार गरेका छन् ।

महतोले आज काठमाडौंको अनुपम फुडल्याण्डमा बसेको केन्द्रीय कार्य समितिको बैठक बहिष्कार गरेका हुन् ।

महतोले बैठकमा सहभागी नहुनुको कारण खोल्दै भने, ‘नेता हुँ भन्छन्, भनेको केही मान्दैनन् । त्रुटि सच्याउँछु भन्छन्, सच्याउँदै सच्याउँदैनन्, त्यसैले बैठकमा गइनँ ।’

कुनै पनि त्रुटि नसच्याएको भन्दै उनले जीवनभरि मधेशवादको लागि संघर्ष गरेर आएका साथीहरुलाई छुटाएर केन्द्रीय समिति विस्तार गरेको बताए ।

झापाको विश्वनाथ राजवंशीदेखि पश्चिमको फनीराम चौधरीसम्म छुटाएको बताउँदै उनले भने, ‘जुन बेला उहाँ (महन्त ठाकुर) कांग्रेसको लागि लड्दै हुनुहुन्थ्यो, यी साथीहरू मधेशवादको लागि लड्दै थिए । कांग्रेसबाट आएर मधेशवादीहरूलाई हटाउने ? मधेशवादकै जन्मदाताहरूलाई हटाउने ?’