१८ भदौ ०७७, ललितपुर । जिल्लाको स्थानीयले आफ्नो संस्कृति जोगाउनका लागि भन्दै भेला भई रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा पुल्चोकमा स्थानीय र प्रहरी बीच झडप भएको छ ।
बिहीबार ललितपुरका स्थानीयले रातो मत्स्येन्द्रनाथको रथ जात्रा गर्न पाउने पर्ने भन्दै रथ तान्न शुरु गरेपछि प्रहरी र स्थानीयबीच झडप भएको हो ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी अधिकारीले स्थानीयलाई सम्झाइबुझाई गर्दा समेत भीड नियन्त्रण नभएपछि पानीको फोहोरा तथा टियर ग्यासको प्रयोग भएको बताए । झडपमा के कति घाइते भए भन्ने विवरण आइनसकेको उनले जानकारी दिए ।
गत बैशाख महिनामै तान्नु पर्ने रथ कोभिड–१९ को संक्रमणसँगसँगै सुरुभएको बन्दाबन्दी र निषेधाज्ञाका कारण ५ महिना बित्न लागिसक्दा समेत रथारोहण स्थगित भएपछि स्वास्थ्य मापदण्डअनुसार जात्रालाई मिलाउनु पर्ने स्थानीयको गुनासो सम्बोधन नहुँदा स्थानीयहरू रथ तान्न तम्सिएका थिए ।
अहिले पनि स्थानीयवासीले जात्रा रोक्न पाइँदैन भन्दै नारा लगाइरहेका छन् भने मूल पुजारी कपिल बज्राचार्यले विगतका वर्षहरुमा धेरै अप्ठ्यारो परिस्थिति साथै महाभुकम्पमा पनि नरोकिएको जात्रा रोक्नु सही नभएको बताए ।
वर्षा र सहकालका देवताको प्रभावले अहिलेको संकट पनि हट्ने भन्दै उनले देवताको जात्रा रोक्न नहुनेमा जोड दिए ।