१९ बैशाख ०७४, काठमाडौं । कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार छाड्ने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टीको कार्य सम्पादन समिति, मन्त्री तथा उपलब्ध केन्द्रीय सदस्यहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता सुशील श्रेष्ठकाअनुसार पार्टीले सरकार छाडेको पत्र आज मंगलबार दिउँसो प्रधानमन्त्री समक्ष बुझाउने तयारी गरेको छ ।
त्यस्तै बैठकले पार्टी निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध लगाइएको महाभियोगको विपक्षमा उभिने पनि निर्णय गरेको छ ।
महाअभियोग प्रस्ताव न्यायालयको सर्वोच्च र स्वतन्त्रता नै हनन् हुने गरी ल्याइएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ ।
कार्यसम्पादन समितिको बैठकमा कमल थापा पक्षधर नेताहरुले सरकार छाड्नु पर्ने कुरा राखेका थिए भने पशुपति शमशेर राणापक्षधर नेताहरुले सरकार छाड्न नहुने मत राखेका थिए ।
राप्रपाले सरकारबाट बाहिरिए पनि संविधान संशोधनको पक्षमा नै मतदान गर्ने जनाएको छ ।
समर्थन फिर्ता लिए पनि सरकारसँग बहुमत कायमै
राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सरकारसँग बहुमत कायमै रहन्छ ।
३७ सांसद रहेको राप्रपा बाहिरिए पनि सरकारसँग बहुमत अर्थात २९८ भन्दा बढि सांसदहरुको समर्थन हुनेछ ।
त्यसमा नेपाली कांग्रेस २०७, माओवादी केन्द्र ८८ र विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका १४ सांसद गर्दा ३०२ सांसद सरकारकै पक्षमा हुनेछन् ।
यसबाहेक साना दलको केही सांसद पनि सरकारको पक्षमा रहेका छन् ।













