राष्ट्रपतिको भ्रमणले नेपाल-भारत सम्बन्ध प्रत्युत्पादक पो हुने हो कि ?

४ बैशाख ०७४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणले नेपाल-भारतवीचको सम्बन्ध प्रत्युत्पादक पो हुने हो कि ? भन्ने संकेत देखिएको छ ।

Bidhya-Bhandari-india-visit

भारतकी महिला तथा बालवालिका राज्यमन्त्री कृष्णा राजले हातमा मोवाइल बोकेर राष्ट्रपति भण्डारीलाई विमानस्थलबाट ‘रिसिभ’ गरेको विषयले नेपाली सञ्चारमाध्यम र सोसियल मिडियामा चर्चा पाएको छ ।

भारतीय राष्ट्रपति नेपाल आउँदा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुले लर्को लागेर विमानस्थलमा स्वागत गरेको तस्वीर सामाजिक सञ्जालमा पुनः पोष्ट भएका छन् ।

18010155_1894403670838756_466080152080020628

भारतले नेपालमाथि अपमान गरेको टिप्पणी आएका छन् । र, यस्तो टिप्पणी गर्नेहरुमा एमालेकै समर्थक समेत छन् ।

राष्ट्रपतिको भ्रमणमा कसले स्वागत गर्दैछ, कसले रिसिभ गर्दैछ र कहाँ-कहाँ जाने कार्यक्रम छ भन्ने कुरा पक्कै पनि पूर्वजानकारी गराइएकै हुन्छ ।

विमानस्थलमा रिसिभ गर्ने विषयमा बहस गर्दा विद्यादेवीलाई राज्यमन्त्रीले रिसिभ गर्नु गल्ती हो या भारतीय राष्ट्रपति नेपाल आउँदा हाम्रा सबै भीआइपीहरु लर्को लाग्नु गलत हो ?

यी विषयमा पनि बहस जरुरी छ । तर, यसमा डिप्लोम्याटिक मान्यता के छ भन्ने विचार नगरी बहसमा उत्रिनु शोभनीय हुँदैन ।

आफ्नो देशको राष्ट्रप्रमुख विदेश भ्रमणमा गएकै दिन निम्तो गर्ने देशको विरोधमा उत्रिनु पक्कै पनि दुई देशको सम्बन्धमा सकारात्मक लक्षण होइन ।

भारतले नेपाललाई हेर्ने दृष्टिकोण सुधार गरेको देखिँदैन

छिमेकी भारतले नेपाललाई हेर्ने दृष्टिकोणमा अझैसम्म कुनै सुधार गरेको देखिँदैन । नेपालमा नाकाबन्दी गरेर उसले ऐतिहासिक गल्ती गरेकै हो । त्यसमाथि नेपालको संविधानलाई स्वागतसम्म गर्न सकेको छैन ।

नेपालमा स्थानीय तहको चुनाव घोषणा भएको छ । तर, भारतले अझैसम्म चुनाव गर्न लागेकोमा स्वागत र समर्थन छ भनेर एक वचन भन्न सकेको छैन ।

यस्तो बेलामा उसले राष्ट्रपतिलाई दिल्ली बोलाएको छ । तर, ऊ विमानस्थलदेखि नै चुक्न थालेको छ । विमानस्थलमा नेपालले गरेको भव्य स्वागतको जवाफ उसले हातमा मोबाइल बोकेकी राज्यमन्त्रीबाट फर्काएको छ ।

राष्ट्रपतिले दिल्लीबाट के कोशेली ल्याउलिन् ? अपमान वा सम्मान !

राष्ट्रपति विद्यादेवीको भारत भ्रमणसँगै एउटा प्रश्न उठेकै छ, उनले अब भारतसँग राम्रो सम्बन्ध बनाएर आउलिन् या दुई देशवीचको नाकाबन्दीदेखिको घाऊ बल्झाएर फर्काएर ? उनले दिल्लीबाट के कोशेली ल्याउलिन् ? अपमान वा सम्मान ?

भारतले नेपालकी राष्ट्रपतिलाई किन बोलाएको हो ? नेपाल र नेपालीलाई सम्मान गर्न या अपमान गर्न ? दुई देशवीचको सम्बन्ध सुधार गर्न या अझ बिद्रुप बनाउन ?

अनि राष्ट्रपति विद्यादेवी किन भारत भ्रमणमा गएकी हुन् ? नेपालको राष्ट्रिय स्वाभिमान र प्रतिष्ठा बढाउन या ‘लम्पसारवाद’ लाई प्रश्रय दिन ?

यी विषयहरुमा बहस हुँदै जाला, अहिलेचाहिँ यति कामना गरौं- राष्ट्रपतिको भारत भ्रमण सफल होस् र दुई देशवीचको विगि्रएको सम्बन्धमा सुधार आओस् । अनलाइनखबरमा टिप्पणी छ ।

तपाइको मत