राष्ट्रपतिद्वारा वसन्त पञ्चमीका अवसरमा वसन्त श्रवण तथा प्रसाद ग्रहण

८ माघ ०७४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी वसन्त पञ्चमीका अवसरमा ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोकमा वसन्त श्रवण तथा प्रसाद ग्रहण गरेकी छिन् ।

आज बिहान ११:१७ को शुभसाइतमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गरेकी हुन् । प्रत्येक वर्ष वसन्त पञ्चमीका दिन राष्ट्रप्रमुखबाट सो स्थानमा वसन्त श्रवण गरी प्रसाद ग्रहण गर्ने परम्परा रहँदै आएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखको समेत वसन्त श्रवणमा सहभागिता थियो ।

शुभसाइतमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति भण्डारीको सम्मानमा सलामी अर्पण गरेको थियो । हनुमान ढोकाका मूल पुजारी देवराज अर्यालले वसन्त वसन्त श्रवण गराउनुका साथै राष्ट्रपति लगायतलाई प्रसाद दिएका थिए ।

साथै काठमाडौं महानगरपालिकाका प्रमुख तथा उपप्रमुख, पुरातत्व विभागका उच्च अधिकृतको समेत सो वसन्त श्रवणमा सहभागिता थियो ।

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारका ज्ञान, सिद्धि र सद्बुद्धि हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र बुद्धि स्फूरण भई विद्याकी देवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

 

तपाइको मत