६ माघ ०७४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन), २०७४ अध्यादेश जारी गरेकी छन् ।
शनिबार सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी कामका लागि गठित दुई आयोगको अवधि सकिए पनि काम पूरा नभएका कारण दुवैको म्याद थप्न अध्यादेश जारी गरिएको हो । अध्यादेश जारी भएपछि ती दुवै आयोगको म्याद एक वर्ष थप हुनेछ ।
पुस २१ मा बसेको मन्त्रिपरिषदको बैठकको सिफारिसमा नेपालको संविधानको धारा ११४ (१) अनुसार ती अध्यादेश जारी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।













