राष्ट्रपतिद्वारा हजरत मोहम्मदको जन्म जयन्तीका अवसरमा शुभकामना व्यक्त

१५ मंसिर ०७४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मका अन्तिम रसुल हजरत मोहम्मदको १४३२औँ जन्म जयन्तीका अवसरमा शुभकामना व्यक्त गरेकी छिन् ।

शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै हजरत मोहम्मदको जन्मजयन्ती जस्ता उत्सवले विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आबद्ध नागरिकबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ पार्न सहयोग पु¥याएको बताएकी छिन् ।

नेपाल धार्मिक, साँस्कृतिक विविधताले सम्पन्न रहेको साथै जातीय, धार्मिक तथा सहिष्णुताको अनुपम उदाहरण रहेको नेपाली समाजमा मोहम्मदको जन्म दिनले सामाजिक सद्भाव वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सोही अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले विज्ञप्तिमार्फत हजरत मोहम्मद विश्वभरिका मुसलमानको आस्थाको केन्द्र हुनुका साथै उहाँले सत्य, सामाजिक न्याय, भाइचारा, शान्ति र महिलाको सम्मानका लागि दिनुभएका सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरेका छन् ।

 

तपाइको मत