२० कार्तिक ०७४, काठमाडौं । डा. गोविन्द केसीले राष्ट्रपति विद्या भण्डारीलाई सर्वोच्च पदको अवमूल्यन गरेको आरोप लगाएका छन् ।
राष्ट्रपति भण्डारीले चिकित्सा शिक्षा अध्यादेश प्रमाणिकरण नगरेकोमा रोष व्यक्त गर्दै सोमबार पत्रकार सम्मेलन गरेर डा. केसीले एक साताभित्र अध्यादेश प्रमाणीकरण नभए अनसन बस्ने चेतावनी समेत दिएका छन् ।
‘राष्ट्रपतिले अध्यादेश रोकेर राख्न मिल्दैन, यदि कुनै राजनीतिक दलको आदेशमा राख्नुहुन्छ भने राष्ट्रपति जिम्मेवार हुनुपर्छ’ उनले भने, ‘म राष्ट्रपतिज्यूलाई एक हप्ता समय दिन्छु ।’
सरकारले कार्तिक ६ गते काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउने गरी चिकित्सा शिक्षा ऐन अध्यादेश पास गरेर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गरे पनि उक्त अध्यादेश प्रमाणीकरण भएको छैन् ।













