२ फागुन, काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरुलाई बोलाएर राष्ट्रपति विद्या भण्डारीले निर्वाचनमा केन्द्रीत हुन् आग्रह गरेकी छन् ।
सोमबार राष्ट्रपतिले संसदमा १० भन्दा बढी सिट भएका दलका नेताहरुलाई शीतल निवासमा बोलाएर आफ्नो कुरा लिखित रुपमा राखेकी हुन् । छ पेजको लिखित मन्तव्यमा उनले दलहरुलाई निर्वाचनमा केन्द्रीत हुन पटक पटक आग्रह गरेकी थिइन् ।
राष्ट्रपति ले ‘बाँकी रहेको समयको पूर्ण सदुपयोग गर्दै कत्तिपनि समय खेर नफाली’ सबै तहको निर्वाचनको तयारीमा जुट्न आग्रह गर्दै आवधिक निर्वाचन नागरिक अधिकार भएको र त्यसलाई कुण्ठित हुन नदिन राजनीतिक दलहरु प्रतिवद्ध हुनुपर्ने पनि स्मरण गराएकी छन् । नेपाली जनता निर्वाचनको उत्कट चाहना र प्रतिक्षामा रहेको भन्दै उनले त्यसलाई पुरा गर्नेतर्फ अग्रसर हुन आग्रह गरेकी हुन् ।