२१ असोज ०७६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको टीका ग्रहण गरेकी छन् ।
राष्ट्रपति भण्डारीले आफन्त र पुजारीबाट मंगलबार दिउँसो दशैं टीका ग्रहण गरेकी हुन् ।
राष्ट्रपतिले आफूले टीका ग्रहण गरेपछि राष्ट्रका उच्चपदस्थ अधिकारी लगायत सर्वसाधारणलाई टीका लगाइदिएकी छन् ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दशैं टीका लगाइदिएकी छन् ।
राष्ट्रपति भण्डारीले मंगलबार अपरान्ह १ बजेर ३५ मिनेटमा राष्ट्रपति भवन शितलनिवास पुगेका ओलीलाई दशैंको टीका, जमरा र माला लगाइदिएका हुन् ।
भण्डारीले ओली पत्नी राधिका शाक्यलाई पनि टीका दिएकी छन् । उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलसहित अन्य मन्त्रीहरु, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल लगायत उच्च पदस्थ व्यक्तिलाई दशैंको टीका लगाइ दिएकी छन् ।
शितलनिवासमा सर्वसाधारणलाई पनि टीका लगाइदिने क्रम जारी छ ।
उपराष्ट्रपतिले लगाए बुबाको हातबाट दशैंटीका
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले ८६ वर्षीय बुबाको हातबाट टीका ग्रहण गरेका छन् ।
उपराष्ट्रपति पुनले उपराष्ट्रपति भवन, हरितगृहमा बुबा रामसुर पुनको हातबाट दशैंटीका ग्रहण गरेका हुन् ।
आफूले टीका ग्रहण गरेपछि उपराष्ट्रपति पुनले सचिवालय सदस्यहरु, सुरक्षाकर्मीहरु र आफन्तजनलाई टीका लगाइदिएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले लगाए बुबाको हातबाट दशैंटीका
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले बुबा मोहनप्रसाद ओलीको हातबाट दशैंको टीका लगाएका छन् ।
प्रधानमन्त्रीले दिउँसो साढे २ बजे बुबाको हातबाट बालुवाटारस्थित निवासमै टीका लगाएका हुन् ।
आफूले टीका लगाएपछि प्रधानमन्त्री ओलीले पत्नी राधिकालाई टीका लगाइदिएका छन् ।
प्रधानमन्त्रीले मन्त्री, सांसद, विशिष्ट श्रेणीका कर्मचारी, सर्वसाधारण लगायतलाई टीका लगाइदिने कार्यक्रम रहेको छ ।

















