१५ पुस ०७७, काठमाडौं । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका नेताहरुले तमू (गुरुङ) समुदायको तमू ल्होछार र ल्होसार, किरात समुदायको उधौली र नेवार समुदायको योमरी पुन्हिको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् ।
यस्तै उपराट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले शुभकामना व्यक्त गर्दै अहिले जनतामा नैराश्यता आएकाले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्णपालन र संरक्षण अनिवार्य रहेको बताएका छन् ।
यसैगरी प्रधानमन्त्री खड्ग प्रसाद ओलीले शुभकामना सन्देश जारी गर्दै खुसी नेपाली र समृद्ध नेपालको कामना गरेका छन् ।
यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना व्यक्त गर्दै नेपाली समाजमा भएका विभिन्न समुदायका अधिकार र पहिचानलाई मुर्तिकृत गरेको भन्दै यतिखेर जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि कुण्ठित गर्न प्रतिक्रियावादी, सामन्ती, निरंकुशतावादीहरू सल्बलाउन थालेको बताएका छन ।
उनले पछिल्ला राजनीतिक घटनाक्रमले नेपाली जनताको त्याग र संघर्षबाट प्राप्त उपलब्धि गुम्ने हुन् कि भन्ने खतरा पैदा भएको पनि सन्देशमा व्यक्त गरेका छन् ।
यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि तमु ल्होसार, उधौली, योमरी पुन्हीको शुभकामना व्यक्त गरेका छन् ।