१३ पुस ०७४, काठमाडौं । राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश रोकेको आलोचना खेप्दै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन् ।
राष्ट्रपति भण्डारीले बिहीबार बिहान ९ बजे शितल निवास पुगेका दुई पार्टीका अध्यक्षसँग राजनीतिक भेटवार्ता गरेकी हुन् ।
राजनीतिक दलका शीर्ष नेताहरुसँग परामर्श गर्दै आएकी राष्ट्रपतिले निरन्तरतास्वरुप एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग परामर्श गरेको बताइएको छ ।
नेपाली कांग्रेसले राष्ट्रपति भण्डारीलाई अध्यादेश स्वीकृत गर्न दबाव दिँदै आएको छ भने अध्यादेशमा एकल संक्रमणीय मत प्रणालीको व्यवस्था राखिएको भन्दै एमालेले विरोध गर्दै आएको छ ।













