१७ पुस ०७६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ त्रिपुरेश्वर, दशरथ रंगशालामा गरिन् ।
राष्ट्रपति भण्डारीले बुधबार साँझ आयोजित एक कार्यक्रमका बीच भ्रमण वर्ष २०२० को शुभारम्भ गरेकी हुन् ।
पर्यटन वर्ष २०२० औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाल पर्यटन वर्ष सबैको सहयोग र सहभागितामा महाअभियानकै रुपमाअघि बढ्ने विश्वास व्यक्त गरिन् ।
‘नेपाल संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘हामी हाम्रा अमूल्य श्रोत सम्भाव्यताहरूलाई उजागर गर्न लागि परेका छौं ।’
उनले अभियानलाई सफल पार्न सबै नेपाली एकजुट भएर लाग्नु पर्ने बताइन् ।
भब्य समारोहका बीच शुभारम्भ भएको भ्रमण वर्ष २०२० कार्यक्रमलाई चीनका सहायक पर्यटनमन्त्री वाङ सियाओ फेङ, भारतीय पर्यटन राज्यमन्त्री प्रल्हाद सिंह पटेल, म्यानमारका प्राकृतिक स्रोत तथा वातावरण संरक्षणमन्त्री यु ओहन मउग, जमैकाका मन्त्री ओन मउङले पनि सम्बोधन गरेका थिए ।

भारतीय पर्यटन राज्यमन्त्री प्रल्हाद सिंह पटेल नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा लगायत राजनीतिक दलका नेताहरू, सातै प्रदेशका मुख्य मन्त्रीहरूले समेतले भ्रमण वर्ष २०२० का बारेमा बोलेका भिडियो रेकर्ड पनि प्रस्तुत गरिएको थियो । साथै, कार्यक्रममा नेपालका संस्कृति र पहिचान झल्कने गीत संगित प्रदर्शन समेत गरिएको थियो ।
नेपाल सरकारले भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक भित्राउने लक्ष्य लिएको छ ।














