५ बैशाख ०७४, भारत । नयाँ दिल्लीमा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छिन् ।
राष्ट्रपति भण्डारीको सम्मानमा मंगलबार बिहान ‘गार्ड अफ अनर’ कार्यक्रम राखिएको छ, जहाँ मुखर्जी र मोदी एक साथ उपस्थित हुनेछन् ।
त्यहाँ स्वागत ग्रहण गरेपछि राष्ट्रपति भण्डारी विहान साढे ९ बजे राजघाटस्थित माहात्मा गान्धीको समाधिस्थलमा जाने छिन् । त्यस्तै १० बजे यमुना जैविक विविधता पार्कको अवलोकन गर्ने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारीसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बिहान साढे ११ बजे राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ भने सवा १२ बजे गृहमन्त्री राजनाथ सिंहले भेट गर्नेछन् ।
अपरान्ह पौने ४ बजे वित्तमन्त्री अरुण जेटलीले शिष्टाचार भेट गर्नेछन् ।
राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो उद्योगी व्यवसायीहरुलाई सम्वोधन गर्नेछिन् ।
मंगलबार बेलुका साढे ४ बजे प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति भण्डारीवीच भेटवार्ता हुनेछ भने साढे ५ बजे उपराष्ट्रपति हमिद अन्सारीले शिष्टाचार भेट गर्नेछन् ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जी र राष्ट्रपति विद्यादेवी भण्डारीवीच साँझ साढे ७ बजे भेटवार्ता हुनेछ । लगत्तै भण्डारीको सम्मानमा मुखर्जीले रात्रीभोजको आयोजना गर्नेछन्, जहाँ दुबै देशका राष्ट्रपतिले सम्वोधन गर्ने कार्यक्रम छ ।
मंगलबार दिल्लीको औपचारिक कार्यक्रम सकिएपछि राष्ट्रपति भण्डारी बुधबार उडिसामा र बिहीबार गुजरातमा बस्ने छिन् । उनले त्यहाँ सोमनाथ मन्दिर, द्वारिकाधीश मन्दिर आदिमा तीर्थाटन गर्ने छिन् ।
राष्ट्रपति भण्डारीले बिहीबार उडीसामा लिंगराजा मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । त्यहाँ उनले महिला सुदृढीकरण परियोजनाको अवलोकन गर्ने छिन् ।
भ्रमण दलमा सहभागी एक सदस्यकाअनुसार राष्ट्रपति भण्डारीको टोली शुक्रबार उडिसाबाट दिल्ली हुँदै नेपाल फर्कने कार्यक्रम छ ।