११ पुस ०७४, काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सामूहिक रूपमा भेटी राष्ट्रिय सभा सदस्यसम्बन्धी अध्यादेश जारी गर्न माग गरेका छन् ।
मंगलबार राजपाका ५ जना नेतालाई भण्डारीले शितल निवासमा भेटी अध्यादेश र अन्य समसामयिक विषयमा छलफल गरेकी हुन् । भेटमा राजपा अध्यक्ष मण्डलमा रहेका महन्थ ठाकुर, राजेन्द्र महत्तो, राजकिशोर यादव, शरदसिंह भण्डारी र अनिल झा सहभागी थिए ।
नेताहरुले राजनीतिक स्थायीत्वका लागि सबै जिम्मेवार हुनुपर्ने, जनताको म्याण्डेटबाट बाहिर जान नहुने भन्दै नयाँ सरकार गठन प्रक्रियाका लागि कानुनको अभाव रहेको धारणा राख्दै संवैधानिक अधिकार प्रयोग गर्दा राष्ट्रपति विवादमा पर्न नहुने भन्दै अध्यादेश रोक्न नमिल्ने तर्क गरेका थिए ।