राष्ट्रलाई एकताबद्ध गर्न खेल क्षेत्र महत्वपूर्ण : प्रचण्ड

प्रचण्डद्वारा टेबल टेनिस दिवसको अवसरमा खेलाडीहरुलाई शुभकामना

२३ चैत्र ०७४, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रलाई एकतावद्ध गर्न खेल क्षेत्र महत्वपूर्ण भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय टेबुल टेनिस दिवसको अवसरमा टेबल टेनिस एशोसिएशन ललितपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रलाई एकतावद्ध गर्न खेल क्षेत्र महत्वपूर्ण भएको बताएका हुन् ।

खेलकुदको विकासले राष्ट्रको पहिचान स्थापित हुने बताउँदै उनले भने ‘एउटा सभ्य र अनुशासित, स्वस्थ समाज निर्माण गर्न र राष्ट्रलाई एकतावद्ध गर्नका निम्ति खेल क्षेत्र असाध्यै महत्वपूर्ण र संवेदनशील क्षेत्र हो ।’

अाफू हाइस्कूलमा पढ्दा फुटबल, हाइस्कुल सकेपछि भलिबल र बिएस्सी पढ्दा टेबुल टेनिस खेल्ने गरेको बताउँँदै अध्यक्ष प्रचण्डले भने, ‘स्वास्थ्यको लागि, राष्ट्रको लागि, समृद्धिको लागि र सभ्य समाजको लागि खेलको मान्यतामा निरन्तर अगाडि बढ्न सबैलाई आग्रह गर्दछु ।’

आफू प्रधानमन्त्री हुँदा अन्तर्राष्ट्रिय खेलाडी तारिफ खानसँग टेनिस खेलेको फोटो विश्वभरि फैलिएको स्मरण गर्दै उनले भने, ‘मैले टेबुल टेनिस खेलेको कुरा विश्वभरि प्रचार भएछ । मैले टेबुल टेनिस खेल्दा एशोसिएशनले पिस अवार्ड प्राप्त गरेको सुन्दा विशेष हर्ष र गर्व महशुस भएको छ ।’

उनले अाफू प्रधानमन्त्री हुँदा बालुवाटारमा टेबुल टेनिस खेल्ने एउटा घरै बनाएको स्मरण गर्दै अवसरमा सबै खेलाडीलाई बधाई तथा धन्यवाद दिए ।

तपाइको मत