३१ जेठ ०७७, काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा सांसद राजेन्द्र महतोले राष्ट्रवाद र राष्ट्रघातको परिभाषा ठीकसँग व्याख्या गर्नुपर्ने भन्दै राष्ट्रियता कसैको पेवा नहुने बताएका छन् ।
नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि दफावार छलफलमा भाग लिँदै सांसद महतोले राष्ट्रियता एउटा जाति, वर्ग, क्षेत्र र समुदाय मात्रको नहुने भन्दै यस्तो बताएका हुन् ।
“एउटा जाति, एउटा वर्ग, एउटा क्षेत्र र एउटा समुदायको राष्ट्रियता हुनै सक्दैन् । यदि त्यस्तो राष्ट्रियता भए त्यो पंगु राष्ट्रियता हो । त्यो काम लाग्दैन् । राष्ट्रिय एकतालाई बलियो पार्न सक्दैन्,” उनले भने, “त्यसैले आजबाट राष्ट्रिय एकताको परिभाषा, राष्ट्रियताको परिभाषा, राष्ट्रवाद र राष्ट्रघातको परिभाषा, ठीकसँग व्याख्या गरिनु पर्दछ ।”
“यस्तो संवेशनशील घडीमा एकता देखाउने हो । नेपाली जनताले आफ्नो एकता नदेखाए, आफ्नो भूमिको लागि कसले देखाइदिने हो ? नेपाली जनताले नै देखाउने हो । नेपाली जनताको प्रतिनिधिमुलक संस्था यो प्रतिनिधिसभाले देखाउने हो,” सांसद महतोले राष्ट्रियताको सवालबारे भने, “कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको भूमि त्यो नेपालको हो भनेर संसदबाट पारित गराउन प्रस्ताव आएको छ । यसमा आफ्नो रिजर्भेसन भए पनि नक्सा सम्बन्धी प्रस्तावलाई सहर्ष समर्थन गर्दछ ।”
सांसद महतोले मधेशी अनुहार देखेपछि राष्ट्रघाती देख्ने नश्लीय चिन्तन हटाउनु पर्छ भन्दै निम्न सवालहरु उठाएका छन् :
– यादरहोस्, हाम्रा असन्तुष्टिलाई, जनताका असन्तुष्टिलाई बुझिदिनुस् । यसरी देश नचलाउनुस् यो देश सबैको हो । जति असन्तुष्टि भए पनि जब देशको सवाल आउँछ, हामी एकजुट भएर उभिन्छौं ।
– हाम्रो बारेमा त अनुहार हेर्ने वित्तिकै मधेशी, यो त राष्ट्रघाती नै होला, यो त मधेशी, यो त विदेशी नै होला, यो त भारतीय नै हो भन्ने कुण्ठाबाट भरिएका नश्लीय चिन्तन बोकेकाहरु आजदेखि त्यो हटाइदिनु । हटाइदिऊँ ।
– हरेक मधेसीले सेना भएर सीमा रक्षा गरेको छ । नेपालको सेना त्यहाँ बस्नु पर्दैन । मधेसी जनताले इमानदारीपूर्वक सीमाको रक्षा गरेको छ । तपाईंले विभेद गरे पनि आफ्नो सीमाको लागि लडेको छ, मरेको छ ।
– अन्ठाउन्न वर्षपहिले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमि नेपालको नक्सामा थियो । त्यसलाई कसले बेच्यो ? श्वेतपत्र खोइ जारी गरेको ? राष्ट्रघातीलाई टुडिखेलमा झुण्ड्याउनु पर्दैन ? ढाकछोप गर्ने ?
– महाकाली सन्धि यही संसदबाट पारित गराइएको थियो, त्यो सन्धि कसरी भयो ? त्यो सन्धि नभएको भए हाम्रो जमिन मिचिन्थ्यो ? कसले पारित गरायो ? कसले सम्झौता ग-यो ? म सांसद थिइन् । पार्टी पनि फोरेर पारित गराइयो । भो अब ? कस्तो राष्ट्रवादी काम गरेको हो ? महाकाली सन्धि गर्दा मुहान पत्ता नलगाउने ?
– त्यसकारण अब राष्ट्रघातीको पहिचान हुनुपर्दछ । (सभामुख भन्छ -समय सकियो) सांसद महतो भन्छ, “यो राष्ट्रवादी कुरा हो, सभामुख महोदय ! नेपाली जनताको बिचमा राष्ट्रघातीलाई पर्दाफास गर्नुपर्दछ । मधेशीलाई राष्ट्रघाती भन्ने ? मधेशीलाई राष्ट्रवादी नभन्ने ? राष्ट्रवादको मामलामा औंला उठाउने काम नगरियोस् । कति पटक परीक्षा दिनुपर्ने हो् ? यस्तो अग्निपरीक्षा नलिनुस् ।
– प्रधानमन्त्रीजी कागजमा कोरेर नेपाली जनताले भूमि फिर्ता पाउँदैनन्, जग्गा चाहियो । नेपाली जनतालाई भूमि फिर्ता चाहियो, वार्ता गरेर ल्याउनुस् । वार्ताको वातावरण गराउनुस् ।
– कोरोनाको संकटमा जनताले भनेका छन्, “जनताको जीवन रक्षा नगर्ने सरकारले भूमिको रक्षा गरिदिन्छ ! तपाईंको अगाडि चुनौती छ । जनताको जीवनको रक्षा गर्नु पर्दछ र हाम्रो भूमिको रक्षा पनि गर्नु पर्दछ ।
– एउटा कुरा देशवासी जान्न चाहन्छ, “फेरि पनि यो देशमा राष्ट्रघात हुने हो कि ? राष्ट्रघाती को को हो, यो देशमा ? पहिचान गर्नु प-यो । देश बेचुवाहरु को को हो ? नेपाली जनताले त्यो पनि खोजिरहेका छन् ।”