राष्ट्रियताको प्रश्न जोडिएर आएकाले संशोधन विधेयक संसदमा प्रवेश गर्न नदिएको – ओली

२ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार राजधानीमा भएको कार्यक्रममा संविधान संशोधन विधेयक राष्ट्रियताको प्रश्नसँग जोडिएर आएकाले संसदमा प्रवेश गर्न नदिएको बताएका छन् ।

kp

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष ओलीले संविधान संशोधन विधेयक राष्ट्रिय हितका पक्षमा नभएकाले संसदमा प्रवेश गर्न नदिएको बताएका हुन् ।

‘विधेयकका कुनै पनि बुँदा समर्थन गर्न योग्य छैनन्’ एमाले अध्यक्ष ओलीले भने, ‘सबै बुँदामा देशलाई अहित गर्ने कुरा लुकेर बसेका छन् । त्यसैले विधेयकलाई संशोधन गरेर पास गर्ने अवस्था छैन ।’

प्रधानमन्त्री पदको मोह नसकिँदै बाहिरिनु परेको कुण्ठासहित ओलीले आफू नझुकेको हुनाले प्रधानमन्त्रीबाट हट्नु परेको भन्दै प्रचण्डले प्रधानमन्त्री हुन गरेको कबुलियत नै संशोधन भएको बताए ।

निर्वाचन गर्न नसके मुलुक डरलाग्दो अवस्थामा पुग्ने भन्दै उनले सरकारले निर्वाचनको कुरा गरे पनि मिति घोषणा र कानुन बनाउने काम नगरेको बताए ।

विधेयक कालान्तरमा नेपाललाई भारतमा मिसाउने छोटो हतियार

chitra

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधन विधेयक कालान्तरमा नेपाललाई भारतमा मिसाउने छोटो हतियारका रुपमा आएको बताए ।

उनले पहाड र तराई कुनै हालतमा अलग गर्न नहुने भन्दै मधेसवादी दलहरुले दिल्लीको कुरा गरिरहेको उल्लेख गरे ।

यसैगरी कार्यक्रममा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले कार्यपत्र प्रस्तुत गर्दै संशोधन प्रस्तावले नेपालको राष्ट्रियतामाथि गम्भीर, जटिल र विकराल प्रश्न उठाएको बताए ।

उनले संविधान संशोधन प्रस्ताव तराईलाई नेपालबाट स्वतन्त्र गराई भारतमा गाभ्न र नेपाललाई दोस्रो सिक्किम बनाउन ल्याइएको दाबी गरे ।

तपाइको मत