१४ माघ ०७४, काठमाडौं । माघ २४ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा मनोनयन दर्ता गरेका उम्मेदवारहरुको नामावली आज प्रकाशन हुने भएको छ ।
निर्वाचन आयोगले गत बुधबार उम्मेदवारी दर्तापछि उजुरी गर्न समय दिएकोले त्यसको छानबिन सकेलगत्तै आइतबार नामावली प्रकाशन गर्न लागेको हो ।
आयोगले शनिबार उम्मेदवारविरुद्ध परेका उजुरीमाथि निर्णय गरिसकेको छ । आयोगमा विभिन्न उजुरी परेका भएपनि १ जनाको मात्रै उम्मेदवारी खारेज भएको छ ।
वाम गठबन्धनको तर्फबाट प्रदेश ४ को अपांग तथा अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका रामबहादुर थापाको उम्मेदवारी खारेज भएको हो । निर्देशिका अनुसार थापाले अपांग परिचयपत्र नलिएको भन्दै उनीसँगै प्रतिस्पर्धामा रहेका कांग्रेसका प्रकाश पन्थले उजुरी गरेका थिए । छानबिनबाट आरोप प्रमाणित भएपछि आयोगले खारेजीको निर्णय लिएको हो ।
५९ सदस्यका लागि हुन लागेको चुनावमा ८३ जनाको उम्मेदवारी परेको थियो । त्यसमध्ये १८ जना निर्विरोध भएका छन् भने १ जनाको उम्मेदवारी खारेज भएको छ । यद्यपि, निर्विरोध भएकाहरु निर्वाचित भएको औपचारिक घोषणा भने आयोगले गरिसकेको छैन ।













