राष्ट्रियसभा निर्वाचनको मतदान सुरु

९ माघ ०७६, काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान सुरु भएको छ ।

राष्ट्रियसभाको कूल सदस्य मध्ये रिक्त १८ पदका लागि विहान १० वजेदेखि मतदान सुरु भएको हो । मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ ।

निर्वाचन आयोगका अनुसार, प्रत्येक प्रदेशको १ स्थानमा मतदानस्थल तोकिएको छ ।

प्रदेश १ का लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, २ का लागि जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवन, वागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ स्थित वडा समिति भवन र गण्डकी प्रदेशका लागि पोखरा महानगरपालिकामा अवस्थित निर्वाचन कार्यालय मतदानस्थल तोकिएको छ ।

त्यसैगरी, प्रदेश ५ का मतदाताका लागि घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशका मतदाताका लागि जिल्ला निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका मतदाताका लागि दीपायलस्थित पद्य पब्लिक मुक्तिनारायण उच्च माविमा मतदानस्थल तोकिएको छ ।