राष्ट्रियसभा सदस्यका उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान

२८ पुस ०८०, काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुलाई निर्वाचन चिह्न दिएको छ ।

शनिबार निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारहरुलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिएको जानकारीअनुसार आयोगले सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा ८ राजनीतिक दलका ५१ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

राष्ट्रिय सभा निर्वाचनमा सात प्रदेशबाट महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जनाले उम्मेदवारी दिएका छन् ।