१२ माघ ०७४, काठमाडौं । भारतले ६९ औं राष्ट्रिय दिवसको अवसरमा नेपाललाई एम्बुलेन्स र बस सहयोग गरेको छ ।
राष्ट्रिय दिवसको अवसरमा दूतावास परिसरमा भारतीय राजदूत मञ्जिव सिंह पुरीले एम्बुलेन्स र बसको साँचो हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा राजदूत पुरीले विभिन्न समुदाय र संस्थालाई ३० एम्बुलेन्स र विभिन्न अस्पताल, गैरनाफामूलक संस्था र शैक्षिक संस्थाहरुलाई ६ वटा बसको साँचो हस्तान्तरण गरेका थिए । भारतले सन् १९९४ देखि नेपाललाई ६ सय ६० एम्बुलेन्स र १ सय ३० बसहरु उपलब्ध गराएको जनाएको छ ।
त्यस्तै विभिन्न शैक्षिक संस्थाहरुलाई र पुस्ताकालयलाई समेत शैक्षिक सामग्री र भारती सेना रहेर काम गरेको सन्तानको स्वास्थ्य र शिक्षामा क्षेत्रमा समेत सहयोग हस्तान्तरण गरिएको थियो ।
राजदूत पुरीले कार्यक्रममा राजनीतिक स्थायीत्वसँगै समृद्धि पथमा अघि बढेको नेपालमा भारत निकट रहेर विकासको पथमा साझेदारी गरिरहेको बताउँदै नेपालको विकासमा जनस्तरको सम्बन्ध जोड्ने, व्यापार र पारवाहनलाई सहज बनाउन एकीकृत जाँच चौकी निर्माण, नेपालको संस्थाहरुलाई सुदृढ र सवल बनाउन सहयोग गर्ने जस्ता कार्यहरु भइरहेको बताए ।
उनले नेपालको उज्यालोको लागि विद्युत् प्रसारण लाइन निर्माणमा सहयोग गर्दै विद्युत् समेत उपलब्ध गराएको, तिर्थाटनलाई प्रवर्द्धन गर्न पशुपति धर्मशालामा सहयोग गरेको, जलविद्युत्को अपार उपयोगका लागि अरुण तेस्रोमा आयोजनामा अघि बढेको लगायतको विषय जानकारी दिँदै भारतीयहरु नेपालमा लगानी गर्न इच्छुक रहेको पनि बताए ।
राजदूत पुरीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको सन्देश पढेर सुनाएका थिए ।













