१९ साउन ०७४, काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बाग्लेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले मंगलबार मात्र राजीनामा दिएका थिए ।
२०७२ मा सुशील कोइराला नेतृत्वको सरकार र अघिल्लो सरकारको पालामा आयोगको सदस्यको रुपमा काम गरिसकेको वाग्लेलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले योजना आयोगको उपाध्यक्षको जिम्मेवारी दिएको हो ।
२०३१ मा गोरखाको बुङ्कोटमा जन्मिएका वाग्लेले लण्डन स्कुल अफ इकनमिक्सबाट अर्थशास्त्रमा स्नातक र अन्तर्राष्ट्रिय विकासमा अमेरिकाको हार्भड विश्वविद्यालयबाट स्नात्तोकात्तर गरेका छन् ।
योजना आयोगको उपाध्यक्षमा डा. वाग्लेले विश्व बैकको मुख्यालय वासिङटन डिसिमा वरिष्ठ अर्थशास्त्रीको रुपमा समेत लामो समय काम गरेका थिए । राष्ट्रसंघीय विकास कार्यक्रममा पनि उनीसँग नीति विश्लेषकको रुपमा काम गरेको अनुभव छ ।