८ फागुन ०७४, काठमाडौं । सरकारले राष्ट्रिय सभामा तीन जनाको नाम सिफारिस गरेको छ ।
मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले शेरबहादुर देउवा सरकारले गरेको सिफारिस फिर्ता लिंदै नयाँ नाम सिफारिस गरेको हो ।
सरकारले युवराज खतिवडा, विमला पौडेल राई र रामनारायण बिडारीलाई सिफारिस गरेको महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले जानकारी दिइन् ।
देउवा सरकारले दुई साताअघि कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीको नाम सिफारिस गरेको थियो । तर, राष्ट्रपतिले तीनवटै सिफारिस ‘होल्ड’ गरेकी थिइन् ।
५९ सदस्यीय राष्ट्रिय सभामा ७ प्रदेशबाट ८–८ जना निर्वाचित भइसकेका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट तीन जना मनोनयन गर्ने संवैधानिक व्यवस्था छ । निर्वाचन आयोगले निर्वाचितको सूची राष्ट्रपति कार्यालयमा बुझाइसकेको छ । थप तीनको नियुक्तिसँगै राष्ट्रिय सभाले पूर्णता पाउनेछ ।