१८ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का राष्ट्रिय स्वयंमसेवक नेपालको सद्भावना दूतमा नियुक्त भएका छन् ।
बुधबार बसेको पुनर्निर्माण प्राधिकरणको बैठकले भूकम्पपछि पुनर्निर्माण तथा पुनर्वासमा सहयोगका लागि एक लाख स्वयंमसेवक युवाहरुलाई सक्रिय बनाउने उद्देश्यका साथ खड्कालाई स्वयंमसेवक नेपालको सद्भावना दूतमा नियुक्त गरेको हो ।
२०७२ सालको विनाशकारी भूकम्पबाट ध्वस्त भएका भौतिक संरचना पुनर्निर्माणलाई चुस्त बनाउन नेपाली युवाहरुको जोशलाई सदुपयोग गर्ने उद्देश्यले खड्कालाई सद्भावना दूत बनाइएको राष्ट्रिय पुर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले जानकारी दिए ।
युवाहरुलाई स्वयमसेवाप्रति आकषिर्त गर्दै राष्ट्रिय स्वयमसेवक नेपालले देशमा आइपर्ने विभिन्न प्रकोपका बेला पीडितहरुलाई सहयोग गर्दै ३७ जिल्लामा विस्तार भएको सञ्जालले ६९६ वटा भूकम्पप्रतिरोधी घर बनाएको छ ।













