राष्ट्रिय स्वाधिनताको लडाइँ लडिरहँदा आन्तरिक राष्ट्रिय एकता दुर्घटनामा पर्ने त होइन ? – प्रचण्ड

nala

२० असार, काभ्रे ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधिनताको लडाइँ लडिरहँदा आन्तरिक राष्ट्रिय एकता दुर्घटनामा पर्ने त होइन ? भनी प्रश्न उठाएका छन् ।

काभ्रेको नालामा सोमबार दश वर्षे जनयुद्धका शहीद रामेश्वर श्रेष्ठ र जनआन्दोलन २०६२/०६२ का शहीद भिमसेन दाहालको स्मृतिमा शहीद गेट उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रिय स्वाधिनताको लडाइँ लडिरहँदा आन्तरिक राष्ट्रिय एकता दुर्घटनामा पर्ने त होइन ? भनी प्रश्न उठाएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेका साथीहरुले विषय (सरकार फेर्ने)लाई अन्यथा नलिनुहोला भन्दै कांग्रेसले पनि माओवादीसँग मिलेर एमालेलाई देखाइदिउँला भन्ने नसोच्न र  समयको गाम्भीर्यतालाई बुझ्न कांग्रेस र एमालेलाई आग्रह गरे ।

‘ओलीजीमा सहमति हुन्छ, ठीक छ, शेरबहादुरजीमा हुन्छ ठीक छ,’ राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागि आफू खुल्ला रहेको प्रष्ट गर्दै प्रचण्डले भने, ‘शान्तिप्रक्रिया पनि टुंग्याउनु छ, शान्तिप्रक्रियामा माओवादीको भूमिका छ भन्ने हो भने माओवादी पनि तयार छ ।’

दाहालले सहमतिका लागि जसले त्याग गर्ने तत्परता देखाउँछ, इतिहासले उसैलाई सम्मान गर्ने उल्लेख गर्दै सहमतिका लागि कसैले त्याग गर्दैन भने मुद्धाका लागि सहमति गरेर अघि बढ्नु पर्ने बताए ।

संविधान बन्न नदिनेहरु कार्यान्वयन नहोस् भनेर सक्रिय रहेको उल्लेख गर्दै उनले संविधान असफल होला भन्ने चिन्ताबाहेक अरु केही नरहेको बताउँदै संविधान कार्यान्वयन र पुनर्निर्माणका लागि राष्ट्रिय सहमतीय सरकारको आवश्यकता भएको बताए ।

तपाइको मत