१४ असार ०७७, काठमाडौं । प्रगतिशील सांस्कृतिककर्मीहरु अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) खारेज गर्नुपर्ने भन्दै सडक संघर्षमा उत्रिएका छन् ।
प्रगतिशील सांस्कृतिककर्मीहरुको वैकल्पिक मोर्चा निर्माण अभियानले आइतबार माइतीघर मण्डलमा भेला भएर राष्ट्रिय हितविरुद्धको एम.सी.सी. खारेज गर्नु पर्ने बताएको हो ।
“राष्ट्रिय हितविरुद्धको एम.सी.सी. खारेज गर, साम्राज्यवादका विरुद्ध सांस्कृतिक कर्मीहरु एकजुट होऔं” भन्ने मूलनाराका साथ भेला भएका सांस्कृतिक कर्मीहरुले एमसीसी परियोजना खारेज गर्नु पर्नेमा जोड दिएका छन् ।
सडक संघर्षमा निस्किएका सांस्कृतिक कर्मीहरुले एमसीसी खारेजीका लागि दबाब दिन “संसारभरि हस्तक्षेप गर्ने, अमेरिकाको सत्यानाश होस् । देश बेचेर सत्ता टिकाउने दलालहरुको उठिवास होस्” लगायतका प्लेकार्डहरु बोकेका थिए ।
यस्तै कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वसहायक डिन तथा प्रा.डा. ताराकान्त पाण्डेय लगायत प्रगतिशील लेखक, साहित्यकार तथा सांस्कृतिकर्मीहरुको बाक्लो सहभागिता रहेको थियो ।