राष्ट्र संकटमा हुँदाहुँदै पनि समाजवादी क्रान्ति नजिक छ – संयोजक प्रचण्ड

१५ कार्तिक ०८२, काठमाडौं । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र गम्भीर संकटमा परेको भन्दै अहिलेको समय “साम्राज्यवाद र समाजवादी क्रान्तिबीचको टक्करको चरण” भएको बताएका छन् ।

शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित शहीद प्रतिष्ठान नेपालको साधारण सभालाई सम्बोधन गर्दै, प्रचण्डले यस्तो बताएका हुन् ।

उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने जिम्मेवारी अझै अधुरो रहेको उल्लेख गर्दै त्यसका लागि सरकारमा हुँदा प्रयास र बाहिर हुँदा राज्यलाई निरन्तर सचेत गराउँदै आएको बताए ।

समाजवादी क्रान्ति नजिक, निराश हुनुपर्ने कारण नभएको बताउँदै उनले भने, “गत भदौ २३ र २४ को घटनाक्रमले देखाएको छ, क्रान्ति अब टाढा छैन, बरु नजिक आएको छ । जनताको असन्तुष्टि र आक्रोश सही ढंगले संगठित गर्न सके समाजवादी क्रान्ति छोटो समयमै सम्भव छ ।”

सम्बोधनको प्रारम्भमा प्रचण्डले शहीद परिवार र बेपत्ता योद्धाका आफन्तहरूको भावनालाई सम्मान गर्दै भने, “हरेक नेतृत्वले आश्वासन दिन्छ, तर परिणाम ढिलो हुँदा शहीद परिवारमा आक्रोश आउनु स्वाभाविक हो । म त्यो आवेगलाई जिम्मेवारीको बोधका रूपमा लिन्छु ।”

आफूले प्रधानमन्त्री हुँदा वा विपक्षमा हुँदा पनि शान्ति प्रक्रियाका बाँकी कार्य पूरा गर्न निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै भने, “हाम्रो निरन्तरको प्रयासमा शहीद घोषणा, विधेयक निर्माण र आयोग गठन भएका छन्। तर ती आयोगहरूले अपेक्षित परिणाम दिन सकेका छैनन् ।”

अहिले देश ऐतिहासिक मोडमा पुनः पुगेको भन्दै प्रचण्डले भने, “हामी फेरि जनयुद्धको सुरुवाती चरणमा जस्तै टकरावको स्थितिमा छौ, क्रान्ति र प्रतिक्रान्ति आमनेसामने छन् । हामी अहिले साम्राज्यवादसँग सीधै आमनेसामने छौं । अब प्रश्न छ—समाजवादी क्रान्तिले साम्राज्यवादलाई रोक्ने हो कि साम्राज्यवादले नै हाम्रो स्वाधीनता निल्ने ।”

इतिहासको समीक्षा गदै उनले संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन सामन्ती निरंकुश तन्त्रविरुद्ध विभिन्न गैरक्रान्तिकारी शक्तिसँग सम्झौता गरेका भन्दै कतिपय दलाल र पुँजीवादी शक्तिहरूसँग पनि अस्थायी सम्झौता भएको बताए ।

“त्यो गल्ती होइन,” उनले भने, “त्यस समयको वर्ग संघर्षको आवश्यक परिणाम थियो ।”

उनले त्यही सम्झौताबाट आएको गणतन्त्रपछिका नेतृत्वहरूले जनताको अपेक्षाअनुसार काम गर्न नसक्दा जनआक्रोश बढेको बताए ।

उनले एकता र समाजवादी क्रान्तिको तयारीकै माध्यमबाट संकट पार गर्न सकिने भन्दै सबै वामपन्थी, देशभक्त र क्रान्तिकारी शक्तिहरूबीच वृहद् एकताको आवश्यकता रहेको पनि बताए ।

“अब प्रतिक्रान्तिको भयानक खतरा देखिँदैछ । त्यसलाई परास्त गर्न जनताको तागत र एकता अपरिहार्य छ,” उनले भने, “क्रान्ति कहिल्यै सहज हुँदैन, प्रतिक्रान्तिको सामना गर्दै अघि बढ्नु नै यसको नियम हो ।”