१२ भदौ ०७४, राजविराज । राहत लिएर आएका संस्थाका प्रतिनिधिले चेतना पनि बाँडिदिएको भन्दै राजविराज ९ कृष्णानगर मुसहर वस्तीका बाढी पीडित हर्षित भएका छन् ।
हरेक दृष्टिकोणले अति पिछडिएको र बाढीबाट थप मर्माहत बनेका मुसहर समुदायको बाक्लो उपस्थिति रहेको सो वस्तीमा सोमबार राहत सामग्री लिएर पुगेका एक संस्थाका प्रतिनिधिले विपद पूर्वको तयारी र स्वस्थ जीवनयापनका लागि अपनाउनु पर्ने सचेतता बारे आवश्यक शिक्षा दिएपछि स्थानीय हर्षित भएका हुन् ।
बाढी पीडित मध्ये सर्वाधिक प्राथमिकता दिइएको मुसहर समुदायलाई लक्षित गरी हेल्प नेपाल नेटवर्क काठमाडौंले स्थानीय धर्मी हल्फा महिला विकास क्लवको संयोजनमा बाढी प्रभावित क्षेत्रमा चलाएको राहत वितरण तथा सचेतना अभियान कार्यक्रम मुसहर वस्तीका ७५ जना बालबालिकालाई टुथ पेष्ट, ब्रस, साबुन र झुल लगायतका राहत सामग्री वितरण गरेको थियो ।
मुसहर समुदायका अगुवा र बालबालिकालाई शिक्षा दिदै स्थानीय संयोजन शाखाका अध्यक्ष इन्जिनियर सूर्यनारायण यादवले भने, ‘विगतमा पनि विभिन्न खाले प्राकृतिक प्रकोपका बेला आवश्यक सतर्कता र सरसफाईको अभावमा धेरै जनाको ज्यान गएको देखेको र सुनेको छु । यसपाली त्यस्तो स्थिति नआओस् भनेर राहतसँगै चेतना पनि बाँडन आएको हुँ ।’
सरसफाईको महत्व बारे शिक्षा दिएका उनले सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘विपत्तिका बेला राहत सामग्रीले मात्र पुग्दैन, यसबाट पर्ने असर र बच्ने उपाय पनि बालबालिका र अभिभावक दुबैलाई बुझाउनु उत्तिकै जरुरी भएकाले राहतसँगै आवश्यक ज्ञान बाडने प्रयास गरेका हौं ।’
मुसहर समुदायका अगुवा लखन सदाले बाढी पीडितको घर आँगनमै पुगी संस्थाले राहतसँगै सचेतताका कुराकानी गरेको बताए ।