९ मंसिर ०७४, रुकुम । शुक्रबार रुकुम पूर्वका सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम खलंगा आउँदै गर्दा जिप दुर्घटना भएको छ ।
मुसीकोट नगरपालिका–६, कालिमाटीमा ग १ ज ४२६० नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटना परी प्रहरी नवविवाहित दम्पतीसहित अन्य ५ जनाको मृत्यु भएको छ । उनीहरुले मंसिर ६ गते बुधबारका दिन बिहे गरेका थिए ।
नवविवाहित दम्पती सिस्ने गाउँपालिका-६, का २९ वर्षीय नवीन श्रेष्ठ र इटहरी उपमहानगरपालिका-१७ बालग्रामकी अनिता प्रधानको निधन भएको हो । नवीनको घटनास्थलमा र अनिताको उपचारको लागि जिल्ला अस्पताल सल्ले लिँदै गर्दा बाटोमा मृत्यु भएको हो । नवीन सुर्खेतमा कार्यरत थिए भने अनिता रौतहटमा कार्यरत थिइन् ।
विहेपछि माइती र घरतर्फबाट बिदा भएर कार्यक्षेत्र फर्कन भनेर उनीहरु बेलुकी रुकुमकोटबाट गाडी चढेका थिए ।
दुर्घटनामा प्रहरी निरीक्षक श्रेष्ठका अन्य आफन्त मुसीकोट नगरपालिका–१ मठका शेरबहादुर श्रेष्ठ, उनकी छोरी सुरेखा शाह र छोरा सुधन श्रेष्ठको पनि घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै, त्रिवेणी गाउँपालिका–१, की यमुना मल्ल र शेरबहादुरका माइती पक्षका जनक शाहको पनि घटनास्थलमै मृत्यु भएको छ ।
जनक भलिबलका पूर्वराष्ट्रिय खेलाडी तथा हालका राष्ट्रिय रेफ्री हुन् । सुरेखा र यमुना भोलि हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको निम्ति मुसीकोट नगरपालिका–७, को जनजागृति माविको ‘क’ मतदान केन्द्रमा खटिएका थिए ।
गाडी दुर्घटनाबारेमा केही खुल्न नसकेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए । दुर्घटना परेर घाइते चालक तुलसीपुर उपमहानगरपालिका–१६, प्रेम थापा, सहचालक बाँफिकोट गाउँपालिका रुकुम पश्चिमका प्रेम केसी र अर्का यात्रु बर्दियाका टेकबहादुर खत्रीको नेपालगञ्जको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।