१८ चैत्र ०७४, काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनले सवारी पञ्जीकरण नगरी नयाँ दर्ता र नविकरण गर्न नपाउँने नयाँ नियम ल्याएको छ ।
विभागले रुट इजाजत दिने यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा संशोधन गर्दै अब विभागमा पञ्जीकरण भएका कम्पनीका सावर्जनिक सवारीलाई मात्रै रुट इजाजत दिने निर्णय गरेको हो ।
विभागका महानिर्देशक रुपनारायण भट्टराईले पत्रकार सम्मेलनमा विभागमा पञ्जीकरण भएका सवारीले मात्रै रुट इजाजत पाउने र अब नयाँ आउने सवारीले कम्पनीमा दर्ता भएपछि विभागमा पञ्जीकरण गरेपछि मात्रै रुट पाउने बताए ।
आइतबारदेखि लागु भएको नयाँ नियम कार्यान्वयन भए यातायात व्यवसायीको दादागिरी अन्त्य हुनेछ । भक्तपुरका यातायात व्यवसायीले कम्पनीमा दर्ता भइ काठमाडौं बनेपा सञ्चालनमा आएको मयूर यातायातको विरोधमा चरणबद्ध आन्दोलन सुरु गरेपछि यातायात व्यवस्था विभागले यो नियम लागू गरेको हो ।













