रोगभन्दा पहिले भोकबाट बचाउ, भोको पेटसँग प्रतिरोधात्मक क्षमता हुँदैन् – अमित लामा

अमित लामा – अध्यक्ष, अखिल नेपाल निर्माण मजदुर संघ

११ भदौ ०७७, काठमाडौं । अखिल नेपाल निर्माण मजदुर संघका केन्द्रीय अध्यक्ष अमित लामाले आम श्रमजीवी मजदुरहरुलाई भोकबाट बचाउन सकिएमात्रै रोगबाट जोगाउन सकिने बताएका छन् ।

अध्यक्ष लामाले विश्वमै महामारीको रुप लिइरहेको नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमण नेपालमा प्रवेश गरेसँगै हजारौं मजदुरहरु बेरोजगारी भएको भन्दै सरकारले रोगभन्दा पहिले श्रमिकलाई भोकबाट जोगाउनु पर्नेमा जोड दिएका हुन् ।

बिहीबार सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले भने, “सबैभन्दा पहिले मजदुरलाई भोकबाट बचाउनु पर्दछ । भोको पेटसँग रोग प्रतिरोधात्मक क्षमता हुँदैन् । यसकारण कोभिड–१९ बाट बचाउन सरकारले श्रमिकलाई भोकबाट जोगाउने योजना तथा कार्यक्रम तत्काल ल्याउनु पर्दछ ।”

निर्माण मजदुर संघले नेपालमा कोरोना संक्रमण पुष्टि भएसँगै सातै प्रदेश र स्थानीय तहरुमा कोरोनासम्बन्धी सचेतना कार्यक्रम साथैै दैनिकीमै धौधो परेको श्रमिकहरुलाई राहत तथा अलपत्र परेका मजदुरहरुलाई गन्तव्यसम्म पु-याउन भूमिका खेलिरहेको भन्दै उनले विकासको मेरुदण्ड मजदुरको दैनिकीप्रति सरकार बेखबर हुनु दुखद भएको बताए ।

सरकार र व्यवसायीहरुका लागि ‘कोरोना’ कमाई खाने औजार बनेको भन्दै अध्यक्ष लामाले भने, “कोरोना संक्रमणसँगै बन्दाबन्दी र निषेधाज्ञा जारी भए पनि निर्माणसम्बन्धी कामहरु भइरहेका छन् तर मजदुरहरुले कतिपय स्थानमा महिनौंदेखिको न्युनतम् ज्याला समेत पाएका छैनन् । यही अवस्था रहिरहे हामीसँग संघर्षको विकल्प हुँदैन ।”

उनले तीनै तहको सरकार विकास निर्माण, समृद्धि र सुखी नेपालीको नारा भजाउन र कोरोनाका नाममा बिल मिलाएर बजेट पचाउन उद्दत रहेको भन्दै उनले इट्टाभट्टामा काम गरेर दैनिकी चलाउने मजदुरहरु सिजन बन्दसँगै सबैभन्दा समस्या परेको बताए ।

अध्यक्ष लामाले कोरोना संकटमा बन्दाबन्दी, निषेधाज्ञा गरेर, अधिकारका कुरा गरेर भोको पेट नभरिने भन्दै तीनै तहका सरकार र मजदुर संगठनले गरिखाने श्रमिकवर्गलाई केन्द्रमा राखेर रोजगारी गुमेकाहरु र सम्पूर्ण बेरोजगारहरुलाई देश विकासमा जोड्ने गरी दीर्घकालीन योजना र कार्यक्रम तत्काल ल्याउनु पर्नेमा जोड दिए ।