२१ माघ ०७४, काठमाडौं । पश्चिमी रोल्पाको गैरीगाउँमा ‘जनयुद्ध संग्रहालय’ निर्माण हुने भएको छ ।
तत्कालीन माओवादी लडाकु शिविर राखिएको गैरीगाउँस्थित तिलामा माओवादी द्वन्द्वकालीन गतिविधि झल्काउन संग्रहालय निर्माण गर्न लागिएको हो ।
सरकारले तिलामा ‘जनयुद्ध संग्रहालय’ बनाउन अघि सारेको योजना अन्तर्गत सर्भेक्षणको काम भएको छ । तत्कालीन माओवादी र सरकारबीच शान्ति प्रक्रिया सुरु भएपछि रोल्पाका दहवन, गैरीगाउँ र मसिना लगायत मुलुकभर २८ वटा शिविरमा माओवादी लडाकु राखेर सेना समायोजन गरिएको थियो ।
रोल्पाको नुवागाउँस्थित दहवनमा पाँचौं डिभिजनको मुख्य कार्यालय र तिलामा सहायक शिविर राखिएको थियो । तत्कालीन समयको स्मरण गराउन तथा शान्ति स्थापना भएको जानकारी दिन संग्रहालय निर्माण गर्न लागिएको हो । संग्रहालय निर्माणको पहल गरेका जिल्ला समन्वय समिति रोल्पाका संयोजक राजबहादुर बुढामगरले विगतको अवस्थाबारे भावीपुस्तालाई जानकारी दिन ‘जनयुद्ध संग्रहालय’ स्थापना गर्न लागिएको बताए ।
संग्रहालयमा रोल्पाबाट सुरु भएको सशस्त्र द्वन्द्व, त्यसले पारेको प्रभाव, शान्ति प्रक्रिया र त्यसपछिको अवस्थाबारे जानकारी दिन सकिने संरचना निर्माण गरिनेछन् । शान्ति प्रक्रियामार्फत माओवादी मूलधारको राजनीतिमा प्रवेश गरेपछि भएका परिवर्तन र तत्कालीन अवस्थामा सशस्त्रसंघर्ष हुनुका कारणबारे अभिलेखीकरणका लागि संग्रहालय निर्माण गर्न लागिएको हो ।
२० रोपनी सरकारी वन क्षेत्रभित्र उक्त संग्रहालय बनाउन लागिएको छ । जिसस मार्फत करिब साढे १२ करोड लगानीमा निर्माण गरिने संग्रहालयका लागि पहिलो चरणमा एक करोड बजेट विनियोजन भएको संयोजक बुढामगरले बताए । ‘शान्ति प्रक्रियालगत्तै यो काम गर्नुपर्ने थियो । ढिलै भए पनि राम्रो काम थालनी भएको छ ।’
दहवनस्थित तत्कालीन पाँचौं डिभिजनमा कार्यवाहक कमान्डरको समेत भूमिका निर्वाह गरेका बुढामगरले भने । तिलामा ‘जनयुद्ध संग्रहालय’ बनाउन सर्भे गरेका पुरातत्त्वविद् श्रीहरि थापाले पहाडी क्षेत्रमा यो संग्रहालय नयाँ अवधारणा भएको बताए । थापाका अनुसार पुरातत्त्व विभागको पहलमा संग्रहालय अवलोकन गर्ने स्थान, होटल र हेलिप्याड निर्माण गर्ने अवधारणा छ ।