१७ चैत ०७६, काठमाडौं । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउनको प्रभावितहरुलाई राहत दिने घोषणा गरेको छ ।
मन्त्रीपरिषदको निर्णयअनुसार कोरोना भाइरस (कोभिड–१९) कारण प्रभावितहरुलाई बिजुली बत्तिमा २५ र खाद्यान्नमा १० प्रतिशत छुट दिने निर्णय भएको छ ।
एक सय ५० युनिट भन्दा कम विद्युत खपत गरेको उपभोक्ताहरुले फागुन र चैत महिनामा खपत भएको विद्युत महशुलमा २५ प्रतिशत छुट पाउने भएका छन् ।
यसैगरी खाद्य संस्थानले बेच्ने दाल, चामल लगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय समेत गरिएको छ ।
दैनिक ज्यालादारी मजुदरी गर्ने श्रमिक वर्गलाई स्थानीय तहबाट राहत दिइने निर्णय पनि गरिएको छ ।
अर्थमन्त्री समेत रहेका सरकारका प्रवक्ता युवराज खतिवडाले परिवार संख्याका आधारमा आवश्यकता अनुसार स्थानीय तहले आफ्नो कोषबाट राहत उपलब्ध गराउने बताएका छन् ।
यसका लागि स्थानीय तहले मजदुरी गर्नेको लगत तयार पारी राहत लिनेको सुचि बनाउने छन् ।
यस्तै, सरकारले एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई पनि आग्रह गरेको छ ।
सरकारले भाडामा बस्नेहरुलाई सहयोग गर्न आग्रह गर्दै घरभाडा मिनाहा गर्ने घरबेटीको घर बाहाल कर नलिने बताएको छ । साथै, निजी शैक्षिक संस्थाहरुलाई विद्यार्थीहरुको एक महिनाको शुल्क छुट दिन निर्देशन दिएको छ ।