१२ मंसिर ०७४, काठमाडौं । ललितपुरको लगनखेलमा वाम गठबन्धनले आयोजना गरेको बृहत् चुनावी सभालाई लक्षित गरी बम विस्फोट भएको छ ।
मंगलबार दिउँसो करिब ३ बजेतिर स्थानीय नमुना मछिन्द्र आवासीय माध्यमिक नजिक बम विस्फोट भएको हो । विस्फोटबाट मानवीय क्षति नभएपनि विद्यालयको ७ वटा झ्यालको सिसा फुटेका छन् ।
लखनखेल बसपार्क नजिक वाम गठबन्धन जिल्ला निर्वाचन परिचालन समितिले आयोजना गरेको बृहत् चुनावीसभामा नेकपा एमालेका अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने क्रममा बम विस्फोट भएको प्रहरीले जनाएको छ ।
विस्फोटको आवाजले सर्वसाधारण आतंकित बनेका थिए भने सभा केहीबेर रोकेर सञ्चालन गरिएको थियो । बम पड्किएपछि आक्रोशित हुँदै एमाले अध्यक्ष ओलीले यस्ता सानातिना घटनाले निर्वाचन नरोकिने बताए ।
विस्फोट लगत्तै घटनास्थल पुगेको नेपाली सेनाले घटनाबारे अनुसन्धान गरिरहेको छ । घटनाको कसैले जिम्मा लिएको छैन ।













