१८ असार ०७४, काठमाडौं । दाङको लमही नगरपालिकाको वडा नं. १ मा नेकपा एमालेका अध्यक्ष एक मतले विजयी भएका छन् ।
लमही नगरपालिकाको वडा नं. १ का नेकपा एमाले वडा अध्यक्षका उम्मेदवार नुमराज पौडेलले कांग्रेसका उम्मेदवारलाई १ मतले पछि पार्दै विजयी भएको निर्वाचन कार्यालयले घोषणा गरेको हो । एमालेका नुमराज पौडेलले ५६० र कांग्रेसका उम्मेदवार दामोदर पौडेलले ५५९ मत ल्याएका छन् ।
वडा नं. १ नेकपामा माओवादी केन्द्र र नेपाली कांग्रेसले पुनः मतगणनाको माग गर्दै निवेदन दिएपछि घोषणा रोकिएको थियो । लगत्तै एमालेले पनि वडा नं. ९ को मत पुनः गणनाको माग गरेको थियो । निर्वाचन आयोगले नियम अनुसार मत परिणाम सार्वजनिक गर्न निर्देशन दिएपछि आइतबार विहान वडा नं. १ र ९ को मत परिणाम सार्वजनिक गरिएको हो ।
त्यसैगरी,वडा नं. २ मा नेपाली कांग्रेसका नेपालु चौधरीले ९ सय २९ मत प्राप्त गरी विजयी हुनु भएको छ । यो वडामा कांग्रेसको प्यानलनै विजयी भएको छ । स्वतन्त्र उम्मेदवार विनय घिमिरेले ४ सय ५५ मत ल्याए । माओवादी केन्द्रका उम्मेदवारले चार सय ३६ मत वडा अध्यक्षमा ल्याएका छन् ।
वडा नं. ९ मा पनि नेपाली कांग्रेसको प्यानल नै विजय भएको घोषणा गरिएको छ । कांग्रेसका भेषबहादुर केसी (रमेश)ले ५ सय ७७ र नेकपा एमालेका खिम बहादुर केसीले ३ सय ७३ मत पाएका छन् ।