३१ असार ०७४, काठमाडौं । ललितपुरको बुङ्मती र गोदावरीसम्म साझा यातायातको बस सेवा विस्तार गर्ने योजना बनेको छ ।
काठमाडौं महानगरपालिकाले झण्डै १५ करोडको सेयर किनेर नगरका विभिन्न क्षेत्रमा साझा बस चलाएपछि ललितपुर महानगरपालिकाले पनि साझासँग एक करोड रुपैयाँको सेयर किन्ने समझदारी गरेको हो ।
मेयर महर्जनले ठूला बसलाई प्रोत्साहित गर्दै नागरिकलाई सहज रुपमा सार्वजनिक यातायात उपभोग गराउने नीति महानगरपालिकाले लिएको उल्लेख गर्दै अबको एक महिनाभित्रै साझालाई नयाँ बसहरु किन्न १ करोड रुपैयाँ हस्तान्तरण गरिने ललितपुरका मेयर चिरीबाबु महर्जनले बताए ।
मेयर महर्जनले भने -‘हामीले ललितपुरको बुङ्मति र गोदावरीसम्म साझा बस लैजानुपर्छ भनेर साझाको एक करोडको सेयर किन्ने गरी एमओयू गरेका छौं, अब साझाका नयाँ बसहरु आएर ललितपुरमा सेवा विस्तार गर्छन् ।’
साझा यातायातले पनि ललितपुर महानगरपालिकाबाट रकम आएपछि बस किन्ने प्रक्रिया अघि बढाइने बताएको छ ।
साझाले अहिले ४६ वटा बसमार्फत यात्रुलाई सेवा दिइरहेको छ । अहिले काठमाडौं महानगरपालिकाले दिएको ५ करोड रुपैयाँबाट १२ वटा डिलक्स र एउटा सेमी-लो फ्लोर बस किन्न प्रक्रिया अघि बढाइएको छ ।