१८ भदौ ०७७, ललितपुर । जिल्लाको ललितपुर महानगरपालिकाभित्र शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको छ ।
राताे मछिन्द्रनाथकाे रथ तान्ने विषयमा बिहीबार पुल्चोकमा स्थानीय र प्रहरी बीच झडप भएसँगै ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बिहीबार नै कर्फ्यु आदेश जारी गरेका हुन् ।
केही उच्छृङ्खल समूह र व्यक्तिहरुले कठिन परिस्थितिको नाजायज फाइदा उठाई धार्मिक, सांस्कृतिक विश्वासमा खलल पुयाई शान्ति सुरक्षा भन्न गर्ने हेतुले गैरकानुनी हर्कत गरेको पाइएको भन्दै कर्फ्यु आदेशमा भनिएको छ, “ललितपुर जिल्लाको ललितपुर महानगरपालिका भित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथ भित्र पर्ने सम्पूर्ण क्षेत्रमा मिति २०७७ /०५ /१९ गते विहान ४:०० बजेदेखि मिति २०७७ /०५ / १९ गते बेलुकी १०.०० बजे सम्म लागु हुने गरी स्थानिय प्रशासन ऐन, २०२८ को दफा ६ क (१) बमोजिम कर्फ्युकाे आदेश जारी गरिएको छ ।”
“कर्फ्यु आदेश जारी भएको क्षेत्र भित्र उपरोक्त मिति र समयमा आवातजावत गर्न, भेला हुन र जुलुश निकाल्ने जस्ता काम कारवाही गर्न निषेध गरिएको छ,” आदेशमा उल्लेख छ, “यो आदेशको उल्लंघन गरि घरबाट बाहिर निस्केमा वा अन्य काम गरेमा सुरक्षाको लागि खटिएका सुरक्षा अधिकारीले गोलि समेत हान्न सक्नेछ ।”