लिपुलेक प्रकरण : भारत–चीनबीच सम्झौता भएको हुनाले त्रिदेशीय समस्या

२९ बैशाख ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सीमाका विषयलाई टुङ्गयाउने समय आएको बताएका छन् ।

आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सदस्य एवम् नेकपाका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

दशकौँदेखिको सीमा विवाद ऐतिहासिक तथ्यहरुको आधारमा टुङ्गयाउने समय आएको भन्दै उनले भने, “सीमा समस्याका विषय एकचोटी फेरि राजनीति र कूटनीतिमार्फत समाधानको कोशिस गर्ने र भएन भने सिधै एउटा टुङ्गोमा पुग्नुपर्ने समय आउँदै गरेको महसुस गरेको छु ।”

समिति सदस्य एवम् सांसदहरुले उठाएको मुलभूत विषयमा सहमति जनाउँदै अध्यक्ष प्रचण्डले भनेका छन्, “शनिबार भारतले सडक उद्घाटन गरेको विषय आइसकेपछि प्रधानमन्त्रीलाई भेटेर विषय धेरै गम्भीर भएर आयो । विगतमा नक्साको सन्दर्भमा पनि एक ढङ्गको विवाद भयो । हामीले उच्चस्तरमा राजनीतिक र कूटनीतिक संवाद थालिहाल्नुपर्छ ।”

लिपुलेकको सन्दर्भमा चीन र भारतको जे सहमति गरे त्यो सही नभएको भन्दै उनले भने, “प्रधानमन्त्री हुँदा संयोगले तुरुन्तै भारत भ्रमणमा जाँदा त्यहाँको उच्च नेतृत्वसँग र चीन जाँदा चीनको नेतृत्वसँग विषय उठाइएको हो, सिमानाको विषयमा चीन, भारत र नेपाललले त्रिपक्षीयरूपमा समस्या समाधान गर्नुपर्ने आवश्यकता टड्कारो भयो भनेर उठाएको थिएँ ।”

लिपुलेक नेपाली भूभागको हो भन्दै उनले सुगौली सन्धिअनुसार राजनीतिक र कूटनीतिकरूपमा सीमाविवाद हल गर्नुपर्ने साथै लिपुलेक प्रकरण भारत–चीनबीच सम्झौता भएको हुनाले त्रिदेशीय समस्या बनेको बताए ।

बैठकमा सांसदहरुले कूटनीतिक नोट मात्रै पठाएर नहुने भन्दै आवश्यक परे अन्तर्राष्ट्रिय अदालतमा विषय पु-याउनुपर्ने माग राखेका थिए ।