लिम्पियाधुरा, लिपुलेक, कालापानीको लागि सरकारलाई धन्यवाद तर १० अर्ब खोई ? – प्रदर्शनकारी

३१ जेठ ०७७, काठमाडौं । आज बिहान माइतीघर मण्डलामा भेला भएका नागरिकहरुले अद्यावधिक नयाँ नक्साका लागि सरकारलाई धन्यवाद दिँदै कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका नाममा भएको भनिएको १० अर्बको हिसाबकिताब मागेका छन् ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले १० अर्ब खर्च गरिसकेको भन्ने सार्वजनिक भएसँगै खर्च विवरण पारदर्शी बनाउन माग गर्दै शनिबार बिहान मण्डाला क्षेत्रमा प्रदर्शन भएको हो ।

उनीहरुले क्वारेन्टाइनलाई जोखिममुक्त बनाउन साथै सतप्रतिशत पीसीआर परीक्षण गर्न माग राखेका छन् भने हातमा गुलाबको फूल लिएर सरकारलाई दायित्व पूरा सुझाएका छन् ।

प्लेकार्डमा लेखिएका छन्, “लिम्पियाधुरा, लिपुलेक, कालापानीको लागि सरकारलाई धन्यवाद तर १० अर्ब खोई ? नो आरडीटी सत्प्रतिशत पीसीआर, शून्य जोखिमयुक्त कवारेन्टाइन, मेरो सरकार आफ्नो दायित्व पूरा गर ।”

नेपालमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गत चैत ११ देखि लकडाउन जारी गरेसँगै कोरोना संक्रमण नियन्त्रणका लागि चाल्नुपर्ने कदम नचालेको, पीसीआर परीक्षणको दायरा बढाउन नसकेको, भ्रष्टाचारलाई सरकारलाई बढावा दिएको भन्दै युवाहरु आन्दोलित भएका हुन् ।

पछिल्लो समय विभिन्न क्वारेन्टाइनमा खान–बस्नको सुविधा नरहेका तस्बिरहरु समेत सामाजिक सञ्जालहरुमा आइरहेका छन् ।

यस्तै केही दिनदेखि कोरोना कहरका बीचमा पनि देशभर स्वतःस्फूर्त नागरिकहरु अमेरिकी सहयोग परियोजना एमसीसी, मिलेनियम च्यालेन्ज सम्झौता (कम्याक्ट) खारेजी गर्नुपर्ने भन्दै विभिन्न सहरहरुमा ‘एमसीसी खारेज गर’ भन्दै प्रदर्शनहरु समेत गरिरहेका छन् ।