६ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले विगतमा कांग्रेसका नेता तथा कार्यकर्ताको हत्या र सम्पति लुटपाटमा संलग्न पार्टीका अध्यक्षलाई प्रधानमन्त्री बनाउने सहमतिले पार्टीलाई कमजोर बनाउने बताए ।
बिहीबार नेपाल विद्यार्थी संघका नेता शुभराम बस्नेतको समूहले काठमाडौंमा गरेको कार्यक्रममा खड्काले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति दुर्भाग्यपूर्ण भएको बताउँदै प्रचण्डको नेतृत्वमा सत्तामा जाँदा नोक्सान हुने बताएका हुन् ।
पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति चर्को असन्तुष्टि जनाउँदै खड्काले प्रजातन्त्रको वकालत गर्ने पार्टी अप्रजातान्त्रिक भइरहेको बताए ।
भ्रष्टालाई १ सय ११ किलोको मालाले स्वागत : काँग्रेसमा नयाँ परम्पराको थालनी

सर्वोच्च अदालतद्वारा भ्रष्ट ठहर गरिएका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले जेल जाने बेला “जेल मेरो लागि पवित्र घर हो, पहिले पनि बसेको थिएँ र अहिले पनि बस्दै छु” भनेका थिए ।
विदेशमा भए भ्रष्टाचारको अभियोगमा जेल परेका व्यक्तिलाई परिवारका सदस्यले मात्र स्वागत गर्ने थियो, पार्टीले त्यस्तो व्यक्तिलाई कारवाही गर्ने थियो । तर, कांग्रेसले भ्रष्टाचारको अभियोगमा जेल जीवन विताएर बाहिर निस्केका खड्कालाई डिल्लीबजार जेलबाट निस्कँदा हजारौं कार्यकर्ताले चारतारे झण्डाले स्वागत गरेर १ सय ११ किलोग्रामको माला लगाइदिएर नयाँ परम्पराको थालनी गरेको थियो ।
जेलबाट निस्कँदा पञ्जेबाजाको तालमा कम्मर मर्काएर नाँचेका खड्काले राज्यको कानून मानेर जेल बसेको बताए पनि सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा भाषण ठोकेका थिए ।
भ्रष्टाचारी पूर्वमन्त्री खड्का
सर्वोच्च अदालतका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले २०४८ देखि २०५९ सालसम्म आठपटक मन्त्री पदमा रहेका पूर्वमन्त्री खुमबहादुर खड्काले पदमा बहाल रहँदा पदको दुरूपयोग गरी ९४ लाख ७४ हजार रुपैयाँको सम्पत्ति आर्जन गरेको ठहर गर्दै उक्त रकम असुल गर्ने तथा डेढ वर्ष कैद गर्ने फैसला गरेको थियो ।
इजलासले मन्त्री तथा सांसद् भएको समयमा कसुर गरेको देखिएकाले भ्रष्टाचार निवारण ऐनको दफा २४ अनुसार थप छ महिना कैद गर्ने फैसला सुनाएको थियो । यसअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध २ करोड ३६ लाख बराबरको सम्पत्ति भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
तर, उक्त अदालतका तत्कालीन अध्यक्ष भूपध्वज अधिकारी तथा सदस्यद्वय कोमलनाथ शर्मा र चोलेन्द्र शम्शेर जबराको इजलासले निज खड्काको १२ लाख ५८ हजार बराबरको सम्पत्तिको मात्र स्रोत नखुलेको र सो रकमलाई अवैध मान्न नमिल्ने भन्दै २०६३ पुस १० मा सफाइ दिएको थियो ।
सर्वोच्च अदालतको इजलासले ७४ पृष्ठ लामो फैसला सुनाउँदै विशेष अदालतको फैसला उल्ट्याएको थियो । इजलासले खड्काकी पत्नी शिला खड्काको नाममा रहेको बैंक मौज्दात २५ लाख र त्यसबाट बढे बढाएको ब्याज, निजकै नाममा रहेको ललितपुरको २० लाख ९२ हजार बराबरको जमिन तथा २९ लाख ५६ हजार बराबरको हिस्सा जमिन, प्रतिवादी खड्काको नाममा रहेको २४ लाख ५० हजार बराबरको गाडी र तीन लाख ७५ हजार बराबरको गहना जफत गरी सर्वसञ्चित कोषमा दाखिला गर्न पनि आदेश दिएको थियो ।
विशेष अदालतले नियोजितरूपमा पूर्वमन्त्री खड्कालाई सफाइ दिएको भन्दै सो फैसलाविरुद्ध आयोगले २०६३ चैत १५ मा सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो । पुनरावेदन गरेको करिब पाँच वर्षपछि सर्वोच्चले फैसला गरेको थियो ।













