२ बैशाख ०७८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका लागि बलिदान दिने र जीवन आहुति दिन तयार हुने लोकतान्त्रिक योद्धाहरुलाई सम्मान गरेर ‘लोकतान्त्रिक योद्धा सम्मान’ कार्यक्रमको शुभारम्भ गरेका छन् ।
नयाँ वर्ष २०७८ को शुरुआतसँगै एक समारोहमार्फत् प्रधानमन्त्री ओलीले मुलुकमा लोकतान्त्रिक आन्दोलनमा सरिक भएर ज्यानको आहुति दिने व्यक्तिको सम्मानमा ‘लोकतान्त्रिक योद्धा सम्मान’ कार्यक्रम प्रारम्भ गरेका हुन् ।
काठमाडौँमा बुधबार आयोजित लोकतान्त्रिक योद्धा सम्मान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न आन्दोलनमा योगदान दिने व्यक्तिलाई खोजी–खोजी तथ्यका आधारमा सरकारले उचित सम्मान दिने र उक्त अभियान निरन्तर अघि बढ्ने बताए ।
“इतिहासप्रति, अग्रजले गरेका बलिदानप्रति कृतघ्न हुन सक्दैनौँ, हामी कृतज्ञ हुनुपर्छ र त्यही कृतज्ञता स्वरुप नयाँ वर्ष २०७८ मा यहाँहरुलाई सम्मान गरेर नयाँ सिलसिला थालेका छौँ” प्रधानमन्त्रीले ओलीले भने ।
उनले अरु पनि लाइनमा रहेकाले यो सिलसिला कायम रहने बताउँदै आगामी दिनमा सरकारको तर्फबाट गर्नुपर्ने कामको विषयमा ध्यान गएको पनि बताए ।
उनले शहीद परिवारका सामाजिक सुरक्षा रोजगारी, बालबालिकाको शिक्षा, घाइते, असक्तताका भएकाको जनजीविकाका विषयलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर सरकारले गृहकार्य गरिरहेको बताए ।
कार्यक्रममा प्रधानमन्त्रीको उपस्थितिमा कूल ३८१ लाई लोकतान्त्रिक योद्धा सम्मान गरिएको थियो । जसमा १७६ बहिर्गमित लडाकुसहित दुई जनआन्दोलनका शहीद, १८ सशस्त्र सङ्घर्षका शहीद, ४७ सेनातर्फका शहीद, ४१ प्रहरीतर्फका शहीद, सशस्त्र प्रहरीतर्फ १६, राष्ट्रिय अनुसन्धानतर्फ तीन र मधेश आन्दोलनका २० शहीद परिवारलाई सम्मान गरिएको थियो ।