१३ कार्तिक ०८२, रुकुम पूर्व । रोल्पाको थबाङ गाउँपालिकाका वडाध्यक्ष अभिलाषा रोकाले वडा कार्यालयमा ताला लगाएर चाबी गाउँपालिका कार्यालयमा बुझाएका छन् ।
वडाको विकास निर्माणमा निरन्तर ढिलासुस्ती र जनगुनासोप्रति गाउँपालिकाको कार्यालयले बेवास्ता गरेको भन्दै वडाअध्यक्ष रोकाले गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई चाबी बुझाएका हुन् ।

‘जनताको माग र गुनासोमा गाउँपालिकाले ध्यान दिएको छैन, यदि समस्या तत्काल समाधान नभए पदबाट राजीनामा दिन्छु,’ चाबी बुझाएपछि वडाअध्यक्ष रोकाले भने ।
कार्यालयमा ताला लगाएको भएपनि जनताको नियमित काम कार्यालय बाहिरबाटै दिने उनले बताए ।
सो गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढामगरले वडाध्यक्षले चाबी बुझाएको बारे आफूलाई जानकारी नभएको बताए ।
रोल्पाको थबाङ गाउँपालिकामा पालिका अध्यक्ष र वडाअध्यक्षहरु सबै माओवादीबाट निर्वाचित हुन, तर अहिले माओवादी केन्द्र पार्टी भित्रको दुई गुटका कारण समस्या उत्पन्न भएको स्थानीयको बुझाई छ ।













