२९ असार ०७४, काठमाडौं । कानुन समूहबाट निजामति सेवामा प्रवेश गरेका सहकारी तथा गरिबी निवारणमा कार्यरत वरिष्ठ सचिव राजेन्द्र किशोर क्षेत्री सरकारको मुख्य सचिवमा नियुक्त भएका छन् ।
मुख्य सचिव सोमलाल सुवेदी एसियाली विकास बैंक (एडिबी)को उपकार्यकारी निर्देशक बनेर काजमा फिलिपिन्सको मनिला गएपछि बिहीबार बसेको मन्त्रपरिषद बैठकले क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।
प्रशासन समूहका कर्मचारीको व्यापक विरोध र लोकसेवा आयोगको असहमतिका बीच एमाले नेतृत्वको आर्शिवादमा कानुन समूहबाट प्रशासनमा आउन सफल क्षेत्रीको कार्यकाल लामो हुने छैन । उनले ५८ वर्ष उमेर हदका कारण कात्तिक ८ गते अनिवार्य अवकास पाउने छन् ।
मुख्य सचिव नियुक्तिमा यदि मुख्य सचिव सोमलाल सुवेदीले राजीनामा दिएर एडीबी गएको भए क्षेत्री मुख्य सचिव हुने सम्भावना कम थियो किनभने वरिष्ठका आधारमा धनबहादुर तामाङ अगाडि हुन्थे । तर, सुवेदी राजीनामा नदिई काजमा गएपछि तामाङले अवकास पाएका छन् ।
मुख्य सचिव नियुक्त राजेन्द्र किशोर क्षेत्री ०४१ पुसमा कानुन सेवामार्फत शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका व्यक्ति हुन् ।
क्षेत्री कानुन सेवाबाट प्रशासन सेवामा आई ऊर्जा मन्त्रालयको सचिव बनेका थिए । कानुन समूहका व्यक्तिलाई ऊर्जामा ल्याइएको भन्दै प्रशासन र प्राविधिक समूहका कर्मचारीहरुले विरोध गरेका थिए ।
ऐनमा भएको व्यवस्थाविपरीत क्षेत्रीलाई ऊर्जा मन्त्रालयमा ल्याइएको भन्दै लोकसेवा आयोगले समेत आपत्ति जनाएको थियो ।
निजामती सेवा ऐनविपरीत कानुन समूहका क्षेत्रीलाई तत्कालीन ऊर्जा मन्त्री राधा ज्ञवालीको जोडबलमा ऊर्जा मन्त्रालयमा सचिव बनाएर ल्याइएको थियो ।