वाम एकता भाड्ने देशी विदेशी शक्तिको प्रयास सफल हुन दिन्नौं -‘प्रचण्ड’

२१ माघ ०७४, काठमाडौं । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम एकता भाँड्नका लागि देशी विदेशी शक्तिहरु क्रियाशील रहेको बताएका छन् ।

आइतबार बिहान माओवादी विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नेताहरुसँग दाहाल निवासमा भएको भेटमा अध्यक्ष दाहालले वाम एकता भाँड्नका लागि देशी विदेशी शक्तिहरु क्रियाशील रहेको बताएका हुन् । तर, त्यस्तो प्रयत्न कुनै हालतमा सफल हुन नदिने गरी एमाले अध्यक्ष केपी ओली र आफूले एकतालाई सफल बनाउन लागेको उनले दाबी गरे ।

अध्यक्ष दाहालले भने-‘वामपन्थीहरु मिलेदेखि नै यो एकतालाई भाँड्न देशी विदेशी शक्तिहरु क्रियाशील छन्, मेरो पछाडि र ओलीजीका पछाडि पनि कुदिरहेका छन् तर हामी दुबै जना त्यस्ता प्रयासलाई तोडेर जानेमा स्पष्ट छौं र एकतालाई टुंगो लगाउने तर्फ सक्रिय छौं ।’

अध्यक्ष दाहालले एकतासम्बन्धी सम्पूर्ण काम त तत्काल पूरा नहुने तर ठोस आधार भने सरकार निर्माण गर्नुअघि नै तयार गरिने जानकारी दिए । उनले राजनीतिक रुपमा कसरी एकता हुन्छ भन्ने चाहिँ माघ महिनाभित्रै टुंगोमा पुग्न बताए । सरकार गठनअघि नै हुने एकताले पार्टी र सरकार दुवैलाई बलियो बनाउने भएकाले  सरकार गठन पहिले नै एकता गर्नेबारे पनि प्रयास भइरहेको दाहालले बताए ।

उनले दुई पार्टीबीचको एकता घोषणा चार/पाँच लाख मानिसहरुको सभामा हुने बताउँदै एकताको प्रमुख पक्ष संगठन व्यवस्थापन भएकाले दुबै दलले त्यो संवेदनशीलतालाई ध्यान दिएर गृहकार्य गरिरहेका बताए ।

पार्टी एकतालाई सम्मानजनक ढंगले टुंगोमा पुर्‍याउनुपर्ने भन्दै माओवादीका भातृ संगठनका नेताहरुले अध्यक्ष दाहाललाई दबाब दिइरहेका छन् । यसैसन्दर्भमा अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, उपाध्यक्ष सुरेन्द्र बस्नेतलगायतको नेताहरुको टोली दाहाल निवासमा पुगेको थियो । विद्यार्थीहरुले दुई दलबीचको एकताको पक्षमा नै जनमत आएको तर फरक फरक पृष्ठभूमिका दल भएकाले एकतामा दुबै पक्षका सम्मानलाई विशेष ख्याल गर्न सुझाव दिएका थिए ।

तपाइको मत