११ माघ ०७४, काठमाडौं । वाम गठबन्धनका विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)को संयुक्त टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय पक्षले नेपाली भूभाग मिचेको बिषयमा स्थलगत प्रतिवेदन बुझाएका छन् ।
बिहीबार बालुवाटारमा अनेरास्ववियुका अध्यक्ष नवीना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले पर्साको विभिन्न क्षेत्रमा भारतीय पक्षले नेपाली भूभाग मिचेको बिषयमा तयार पारिएको स्थलगत प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको एक ईन्च भूभाग पनि मिचिन नदिने प्रतिबद्धता जनाएका छन् ।
यही माघ ६ गते दुवै संगठनको टोलीले सीमा रक्षा तथा जागरण अभियानसहित सीमा मिचिएको भनिएको पर्साको छपकैयामा पुगी स्थलगत अध्ययन गरेका थिए ।
प्रतिवेदनमा छपकैयामा मुख्य स्तम्भ ३९१ देखि ३९३ सम्म करिब १३८ फिटको दरले करिब तीन किमी दूरीका ठाउँठाउँमा करिब ५० बिगाहा क्षेत्रफल नेपाली भूमि भारततर्फ पर्न गएको उल्लेख गरिएको छ ।
उनीहरुले सीमाङ्कनका आधारमा बनेका सीमा नक्साको पुनरावलोकन गर्नुपर्ने, सीमा नक्सा गर्दा मुख्य पिलर र स्थानीयवासीले उपभोगको आधारमा पुनरावलोकन गर्नुपर्ने, सीमाजस्ता संवेदनशील विषयमा प्राविधिक नभई राष्ट्रियस्तरबाट नै सहमति र हस्ताक्षर हुनुपर्ने, सिमानाका रुपमा रहेका ५७ वटा नदीनालाको तटबन्ध गरिनुपर्ने, भारतीय पक्षले दशगजा क्षेत्र अतिक्रमण गरी बनाइका संरचना भत्काउनुपर्ने, सीमा समस्याको दीर्घकालीन समस्याका लागि काँडेतार लगाउनुपर्ने माग गरेका छन् ।













