१५ मंसिर ०७४, काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेलले वाम गठबन्धनले दुई तिहाई मत ल्याउने दावी गरेका छन् ।
प्रेस चौतारी र प्रेस सेन्टरको काठमाडौं मिडिया डेक्सले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले सो दावी गरेका हुन् ।
काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका पोखरेलले मंसिर २१ गते हुने १ सय २८ क्षेत्र मध्ये १ सय ५ क्षेत्र वाम गठबन्धनले जित्ने सुनिश्चित भएको भन्दै काठमाडौंका अधिकांश क्षेत्र गठबन्धनले जित्ने पनि बताए ।
प्रतिनिधि र प्रदेश सभाको चुनाव ऐतिहासिक भएको भन्दै महासचिव पोखरेलले निर्वाचनपछि बन्ने वाम गठबन्धनको सरकारले पाँच वर्षसम्म देशमा आमूल परिवर्तन ल्याउने दाबी गरे ।
पोखरेलले निर्वाचनपछि बन्ने सरकारले विकास निर्माण, सुशासन, लोककल्याणकारी राज्यको निर्माण गर्ने भन्दै संविधान र घोषणा-पत्रका आधारमा सरकार सञ्चालन हुने बताए ।













