वाम तालमेल र एकता प्रक्रिया सकारात्मक तर जोखिमपूर्ण – झलकपाणी

१८ असोज ०७४, पोखरा । नेकपा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य झलकपाणी तिवारीले वाम तालमेल र एकता प्रक्रिया सकारात्मक भएपनि अत्यन्तै जोखिमपूर्ण भएको बताएका छन् ।

सहिद पत्रकार महेश पहारीको १२औं स्मृति दिवसको अवसरमा पोखरामा बुधबार आयोजित कार्यक्रममा उनले तालमेल र एकता प्रक्रिया सकारात्मक भएपनि अत्यन्तै जोखिमपूर्ण रहेको तर सफल पार्नुपर्ने बताएका हुन् ।

अनेकौं जोखिमपूर्ण यात्राबाटै माओवादी शान्ति प्रक्रियामा आएको स्मरण गर्दै उनले भने, ‘विश्वमा कम्युनिष्ट आन्दोलन कि त समाप्त भएका छन् कि त आत्मसमर्पण गर्दै बिलय भएका छन्, तर माओवादी आन्दोलन पतन नहुनुमा माओवादी नेतृत्व र प्रचण्डकै कुशलताले गर्दा अगाडि बढिरहेको छ, त्यसैले जोखिमलाई न्यूनिकरण गर्दै सफलतातर्फ अगाडि बढ्नुको विकल्प छैन ।’

उनले एमाले र माओवादी केन्द्रबीच बैचारिक मतभेद कायम रहेकाले बहस र छलफलबाट एकतासम्म पुग्नुपर्नेमा जोड दिए ।

बाम तालमेल र एकतालाई धेरैले आकस्मिक र अस्वाभाविक भनेको प्रति आश्चर्य व्यक्त गर्दै उनले अहिले भएको तालमेल र एकता प्रक्रियाको उद्घोष आकस्मिक र अस्वाभाविक नभएको जिकिर गरे ।

तपाइको मत