विटारनगरमा हिन्दु धार्मिक गुरु श्रीनिवास आचार्यमाथि गोली प्रहार

२५ चैत्र ०७४, विराटनगर ।  महानगरपालिका-१४ जतुवास्थित रामजानकी धर्मशालामा हिन्दु धार्मिक गुरु श्रीनिवास आचार्यमाथि गोली प्रहार भएको छ ।

शनिबार बिहान २ बजेतिर साप्ताहिक ज्ञान महायज्ञका लागि विराटनगरमा रहेका श्रीनिवास आचार्यमाथि गोली प्रहार भएको हो । रामजानकी धर्मशालामा आसनबाट पिसाब फेर्न बाहिर निस्किएको बेला अचानक तीन पटक गोली चलेको थियो ।  तीन गोलीमध्ये   आचार्यको छातिको दायाँतर्फ एउटा गोली लागेको छ ।

आचार्यको विराटनगरस्थित न्यूरो अस्पतालको आइसीयू कक्षमा उपचार भइरहेको छ । मोरङ प्रहरी प्रमुख एसपी अरुण कुमार बिसीले घटनाको अनुसन्धान भइरहेको तर आक्रमणकारीको पहिचान नभइसकेको जानकारी दिए ।

आचार्यका सहयोगी तथा उपकथावाचक नवीन अर्यालले राति २ बजेतिर एक्कासि गोली पड्केको आवाज सुनेपछि दौडिएर जाँदा गुरुजीलाई रगताम्यै भई लडेको देखेर तत्कालै उपचारका लागि अस्पताल पुर्‍याइएको जानकारी दिए । भने, ‘भोलिपल्ट सुरु हुने सप्ताह ज्ञान महायज्ञको तयारीबारे छलफल गरी साढे ११ बजे राति गुरु सुत्न जानु भयो म पनि अर्को कोठामा सुत्न गएँ । एक्कासि निद्रामै गोली पड्किएको सुनेर हतारिएर हेर्न जाँदा गुरु शौचालय नजिकै लड्नु भएको थियो।’

अर्यालका अनुसार जतुवामा बिहान कलशयात्रा निकालेर ज्ञानमहायज्ञ सुरु गर्ने तयारी थियो । आचार्यसहितको सन्तहरुको समूह राति ८ बजे धर्मशाला आई पुगेको थिए ।

हिन्दुवादी गतिविधि चलाए अरुलाई पनि कार्वाही हुने र भारतीय विस्तारवादीहरुलाई कार्वाही हुने विवरण उल्लेख भएको पर्चासमेत भेटिएको अर्चायले बताए ।

लक्ष्मी बैंकटेश मन्दिर चकरघट्टीका पिठाधीश ५० वर्षीय आचार्य हिन्दुवादी सन्त हुन ।

तपाइको मत